मुगु – जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका स्थानीय कपास खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा कपास खेती गर्दै आएका उनीहरूले प्रशोधन गर्न झन्झटिलो मान्दै १८ वर्षदेखि कपास खेती गर्न छाडेका थिए। अहिले आधुनिक उपकरण औजारका साथ गाउँमै कपास उद्योग सञ्चालनमा आएपछि उनीहरू पुनः कपास खेतीतर्फ आकर्षित भएका हुन्।
सोरु गाउँपालिकाका स्थानीयले परम्परागत रुपमै कपासखेती सञ्चालन गर्दै आएका थिए। गाउँमै हाते औजारको सहायताले विभिन्न प्रकारका कपडा उत्पादन गरी जिल्लाभित्र र छिमेकी जिल्ला हुम्लासम्म बिक्री गरी नगद र जिन्सी सामान आम्दानी गर्दै आएका छन्।
सोरु गाउँपालिका भित्रका ९ वटै वडामा गठित १ सय २६ समूह र ११ वटा अन्तरसमूह गरी १ हजार ७९ सेयर सदस्यहरूले सय हेक्टर जमिनमा तीन वर्षयताबाट कपास खेती गर्दै आएका छन्।
०६८ सालमा स्थापित परिवर्तनशील साना किसान कृषि सहकारी संस्था लिमिटेडले सोही गाउँपालिका—८ तारापानीमा आधुनिक उपकरण औजारसहित उद्योग सञ्चालन गरेको छ।
किसानले उत्पादन गरेको कपास प्रतिकेजी २ सयका दरले उद्योगले खरिद गर्छ। प्रशोधन भएको कपासबाट निस्केको बीउ मागअनुसार समूहमा निःशुल्क वितरण गर्ने गरेको छ। कपासबाट राम्रै आम्दानी हुने भएकाले गाउँमा ८ देखि ९ जनासम्मको समूह बनाई सामूहिक कपास खेती गर्दै आएको सोरु गाउँपालिका—८ की कृषक रितु रावलले बताइन्।
कपास प्रशोधन गर्दा झन्झटिलो मान्नुका साथै गाउँमै आयातित कपडा पुग्न थालेपछि कपास खेती लोपोन्मुख अवस्थामा पुगेको थियो।
अहिले गाउँमै कपास प्रशोधनदेखि कपडा बुन्ने उपकरणका साथै औजारसहित उद्योग सञ्चालनमा आएपछि कपास खेतीले व्यापकता पाएको सोही गाउँपालिका—९ का स्थानीय कृषक सिद्धलाल चौलागाईंले बताए।
यस उद्योगमा अहिले दैनिक १३ देखि १५ जना विभिन्न खाले कपडा उत्पादनमा संलग्न छन्। उनीहरू सबैले यस उद्योगमा ९० दिनको तालिम प्राप्त गरेका छन्। तालिमबाट प्राप्त गरेको सीप खेर जाने चिन्ता सबैमा थियो। तालिमपश्चात् सबैले उद्योगमै रोजगारी पाए पनि स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै खाले सहयोग नपाएको उद्योगका कामदारको गुनासो छ।
अहिले उद्योग सञ्चालनमा आएपछि आधा दर्जनभन्दा बढी कपासबाट निर्मित कपडाका सामग्री उत्पादन हुने गरेका छन्। यहाँबाट उत्पादित सामग्री जिल्लादेखि सुर्खेत, काठमाडौंलगायत स्थानबाट माग हुँदै आएको छ।
उद्योगमा प्रत्यक्ष २३ जनाले रोजगारी पाएका छन। युएन डिपीको आर्थिक सहयोगमा १६ किलोवाट सौर्य विद्युत् उत्पादन गरी उद्योगमा दुई प्रकारका मेसिन जडान गरी प्रतिदिन १० देखि १२ क्विन्टल कपास प्रशोधन हुने गरेको परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेका अध्यक्ष पदमबहादुर मल्लले जानकारी दिए।
गाउँमै उद्योग सञ्चालनमा आएर कपास खेतीतर्फ यहाँका कृषक आकर्षित भइरहेका बेला उद्योगलाई अझै प्रभावकारी रूपमा अघि बढाउन र उद्योगका लागि चाहिने आवश्यक मेसिन, हाते औजारका साथै उद्योगबाट उत्पादित वस्तुको व्यापक बजारीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले यसतर्फ कुनै चासो र चिन्तन नदेखाएको स्थानीयको गुनासो छ।
यहाँबाट उत्पादित सामग्री बजारीकरण गर्न कुनै निकायबाट सहयोग उपलब्ध नहुँदा तराईमा उखु कृषकले खेप्दै आएको पीडाजस्तै सोरूमा तीन वर्षयताबाट सुरु गर्न थालेको कपासखेती गर्ने कृषकको पनि उस्तै पीडा हुन सक्ने भएकाले सम्बन्धित निकायले बेलैमा ध्यान पुर् याउन आवश्यक रहेको स्थानीय बताउँछन्।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































