
मुगु – पर्यटकीय गन्तव्यस्थल राराताल नजिकै रहेको मुर्मा गाउँका स्थानीय विद्युत्को पहुँचभन्दा बाहिर छन्। अहिलेसम्म पर्यटकीय गाउँमा विद्युत् विस्तार हुन नसकेपछि मुर्मा गाउँ विद्युत्को पहुँचभन्दा बाहिर रहेको हो।
स्वर्गको अप्सरा मानिने रारामा बसोबास गर्दै आएका मुर्मा गाउँका ८५ परिवारले अहिलेसम्म विद्युत्को उज्यालो देख्न पाएका छैनन्।
आफूलगायत रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक रातिको समयमा अँध्यारोमै बस्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। सदरमुकाम गमगढी बजारलगायत वरपरका बस्ती बिजुली बत्तीले झिलिमिली देखिने गरे पनि रारा मुर्मा गाउँ भने पहिलेदेखि नै रातिको समयमा राराताल घुम्न आउने पर्यटकका साथै स्थानीय बासिन्दा अन्धकारमा बस्न विवश छन्।
गमगढीबाट एक घण्टा दक्षिण दिशामा डेढ दशकअघि निर्माण भएको ४ सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत् आयोजना छ भने भदौमा राष्ट्रिय प्रसारण लाइनसमेत पुगिसकेको छ।
अहिलेसम्म पर्यटकीय गाउँ मुर्मालगायत सोरू, खतेड र कार्मारोङमा विद्युत् विस्तार अघि नबढ्दा स्थानीय जनताको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको छ।
अर्कोतर्फ जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत् प्रसारणलाई लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत् प्रसारण लाइनको प्रतीक्षा गर्दै दिन बित्न थालेको छ।
‘गाउँमा बत्ती छैन, हुनेका घरमा सोलार बत्ती जोडिएका छन्, नहुनेले अहिले पनि रारा राष्ट्रिय निकुञ्जका कारण दियालो बाल्नसमेत मुस्किल छ। तैपनि, सल्लाको दियालो बालेर जेनतेन समस्या टारेका छन्,’ रारा मुर्मा गाउँका वृषबहादुर रोकायाले दुखेसो पोख्दै भने, ‘सरकारले हामीलाई बत्तीको सुविधा त दिन सकेको छैन।’
मुर्मा गाउँका स्थानीयले गमगाढ जलविद्युत् छायानाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्जसमक्ष विद्युत् उत्पादनका लागि बारम्बार आग्रह गर्दै आएका छन्।
चार वर्षअघि गमगाढ साना जलविद्युत् आयोजनाबाट रारा मुर्मा गाउँमा विद्युत् लैजान लाइन विस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले काम अलपत्र परेको छ।
ताल्च, पिना, झ्यारी, लामाचौर, माथितुम गाउँसम्म विद्युत्को पहुँच पुगे पनि मुर्मा गाउँमा नपुग्दा स्थानीय निरास छन्। निकुञ्जले गर्दा मुर्मा गाउँमा सडक विस्तारमा बाधा भएको छ। गाउँमा सडक नपुग्दा स्थानीय दुई घण्टा हिँडेर गमगढी पुग्ने र फेरि दुई घण्टा उकालो चढेर घर पुग्ने गरेका छन्।
यो आर्थिक वर्षमै रारा मुर्मा गाउँमा विद्युत् पुर् याउन लक्ष्य रहेको गमगाढ जलविद्युत् आयोजना प्रमुख साजनबहादुर ऐडीले बताए। ठेक्कामार्फत काम सुरु भइरहेको उनको भनाइ छ।