
अ
+
अ
अ
-
पोखरा – कास्की प्रहरीले दुई दिनमा झन्डै १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। शनिबार पोखरा महानगरपालिका–२७ तालचोकस्थित पृथ्वी राजमार्गमा सवारी चेकजाँचको क्रममा ९ किलो बढी गाँजा बरामद भएको हो।
पोखरातर्फ आँउदै गरेकोे ग १ च ५१३१ नम्बरको कार खोलेर हेर्दा डिक्कीमा लुकाएर राखिएको ९ किलो ८ सय ग्राम गाँजा बरामद भएको हो।
कार चालक गोरखाको सुलिकोट गाउँपालिका–४ घर भइ हाल गोरखा नगरपालिका–४ बतासे बस्ने २४ वर्षीय मदन नेपाली पक्राउ परेका छन्। कारसहित गाँजा र मोबाइल बरामद गरिएको छ। जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट २ जना युवक पक्राउ परेका छन्। पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३७ वर्षीय हेमन्त भट्टराई र पोखरा–१८ सराङकोटका २५ वर्षीय विनोद थापालाई पक्राउ गरिएको हो।
उनीहरु सवार ग १४ प २४३ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा ४ किलो १ सय ग्राम गाँजा प्रहरीले फेला पारेको हो। नगद १० हजार ५ सय रुपैयाँ र २ थान मोबाइल पनि बरामद भएको छ। जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर लागु औषध सम्बन्धि मुद्वामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
