
दोलखा – देशभर आगलागीको घटना बढिरहेका बेला दोलखाको कालिञ्चोक गाउँपालिका–४ पनि अछुतो नरहेको पाइएको छ।
कालिञ्चोक गाउँपालिका–४ स्थित श्री हिलेपानी संस्कृत माविमा अध्यापनरत कृष्ण घिमिरे र ताराशंकर घिमिरेले स्थानीयको सहयोग लिएर रातभर डढेलो निभाउन लागिपरेको बताएका छन्।
उनीहरूले डढेलो फैलिन नदिन अग्निरेखालगायत मापदण्ड निर्धारण गरी सहजीकरणका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको बताए।
उनीहरूले भने, ‘पानीको अभाव भए पनि स्याउलाको सहारामा दिउँसोदेखि रातभर आगोको लप्कासँग पौंठेजोरी खेल्दै निभाउन लागिपर्यौँ, तैपनि महँगो पैसा तिरेर बारीमा लगाइएका फलफूलका बिरुवा भने जोगाउन सकिएन।’
धन्न घर भने जोगाउन सफल भएको उनीहरुले बताए। त्यस्तै, गाउँपालिका अध्यक्ष दीपक खुलालले मानवीय त्रुटिका कारण आगलागी हुन नदिन र सावधानी अपनाउनसमेत सर्वसाधारणलाई अपिल गरेका छन्।
त्यस्तै, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन सिवाकोटीले दैनिक क्रियाकलापले जलवायु परिवर्तनको असरलाई बढावा दिने काम गर्न नहुनेतर्फ सबैले सचेत बन्नुपर्नेमा जोड दिएका छन्।