काठमाडौँ – आउँदो वैशाख २१ गतेदेखि नेपाल स्वास्थ्य सम्मेलन हुने भएको छ।
सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण “स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’’ भन्ने नारासहित यही वैशाख २१ र २२ गते दुई दिन काठमाडौँमा हुन लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा त्रिकाल प्रोडक्सनको आयोजनामा हुन लागेको सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामुहिक कार्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनले स्वास्थ्य क्षेत्रमाका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तीको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्नेछ।
सम्मेलनको पहिलो दिन उद्घाटन सत्रलगत्तै नेपालको जनस्वास्थ्यमा जलवायु परिवर्तनको असर, नेपालमा दिगो स्वास्थ्यको लागि जीवनशैलीको परिदृश्य र पुनर्मुल्यांकनको आवश्यकता कति र बहसमा नेपालको चिकित्सा शिक्षा गरी ३ वटा विषयमा विज्ञहरुसँग छलफल हुनेछन्।
‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने विश्व स्वास्थ्य संगठनको यस वर्षको नाराअनुसार सम्मेलनको दोस्रो दिन आम नागरिकको चासोको विषय स्वास्थ्य व्यवसाय वा सेवा, यस्तै सरकारले सबैको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको चुनौती र अवसरका विषयमा सम्मेलनमा छलफल हुनेछ।
बढ्दो सूचना प्रविधि र स्वास्थ्य पर्यटनको अवसरका साथै नसर्ने रोग र क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्या एवं विपद्ले निम्त्याउने स्वास्थ्य चुनौतीसँगको लडाइँमा सेवाग्राहीको भोगाइ एवं सरकारको नीति तथा योजनाका सम्बन्धमा विज्ञहरुबीच छलफल हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सुरु हुने उद्घाटन सत्रमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायदेखि आमचासोलाई समेट्ने सरकारी तथा गैरसरकरी निकायको सहभागिता रहनेछ।
सम्मेलनका अवसरमा विभिन्न विषयगत छलफल र त्यसपश्चात उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग देशको स्वास्थ्य अवस्था र मन्त्रालयको योजनाका साथै सम्मेलनमा उठेका महत्वपूर्ण प्रश्नको जवाफसहितको अर्न्तवार्तासमेत हुनेछ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































