नसा तथा मनाेरोग विशेषज्ञ डाक्टर प्रदीप पाण्डेसँग अन्तर्वार्ता

छोरामान्छे भएर रुनुहुन्न भन्छन्… (भिडियो)

+
-

नेपालमा पछिल्लाे समय आत्महत्याकाे दर बढ्दै गएकाे देखिन्छ। नेपालमा २०८० काे पछिल्लाे ८ महिनामा  ४ हजार ५ सय २७ जनाले आत्महत्या गरेका छन्।  २०७९/८० मा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेका छन्। यसरी हेर्दा २०८० काे पछिल्लाे ८ महिनामा  ७९/८० काे भन्दा  ५ % बढीले आत्महत्या गरेका छन्।

नेपालमा पछिल्लाे ५ वर्षमध्ये ०७७/ ७८ मा सबैभन्दा धेरै ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन्। त्यस्तै ०७६/ ७७ मा ६ हजार २ सय ५२ जनाले आत्महत्या गरेका छन् भने ०७५/७६ मा ५ हजार ७ सय ८५ ले आत्महत्या गरेका छन्।  प्रत्येक वर्षकाे तथ्याङ्क हेर्ने हाे भने आत्महत्याले आगामी दिनमा भयावह रूप लिन सक्ने विज्ञहरुले बताएका छन्।

देश सञ्चारले गरेकाे एक अन्तर्वार्तामा नसा तथा मनाेरोग विशेषज्ञ डाक्टर प्रदीप पाण्डेले शरीरका सम्पूर्ण समस्या कहीँ न कहीँ मनसँग जोडिएकाले एक चिजमा समस्या आयो भने अर्कालाई प्रभाव पर्ने बताउँछन्। 

 मनलाई समस्या आयो भने त्यो प्रभाव शरीरमा देखिने तर शरीरमा समस्या आयो भने मनमा कम प्रभाव पर्ने उनले बताए। यदि कसैलाई लामो समयदेखि मुटु थाइराइड, सुगरलगायत रोगका समस्या छन् भने यो कारणले पनि मानसिक समस्या निम्तिन सक्ने उनले बताए।  नेपालमा मानसिक रोग बढ्नुको प्रमुख कारण सैद्धान्तिक रुपमा भन्दा  सामाजिक, जैविक र मनोवैज्ञानिक रहेको उनले बताए। 

सामाजिक कारणबाट हेर्दा आर्थिक मन्दी मानसिक समस्याको कारण रहेको उनको बुझाइ छ। ‘अहिलेको समयमा मनको समस्या भएका मान्छेले के कारण लिएर आउनुभएको छ भनेर सोध्नुभयो भने सामान्य कारण भनेको आर्थिक मन्दी छ’, उनले भने,  ‘जस्तै सहकारी पीडित, व्यापारीहरू र जग्गाको कारोबार गर्नेलगायत व्यक्ति मानसिक समस्या लिएर आउनुभएको छ।’

दोस्रो कारणमा मानिसको विदेश जाने चाहना र विदेश जान नपाएको छटपटीले पनि मानसिक समस्या देखिने उनले बताए। तर, विद्यार्थीको केसमा हेर्दा पढाइको कारणले मानसिक समस्या देखिने गरेको उनको भनाइ छ। डा.पाण्डेले काठमाडौँमा लिभिङ टुगेदरमा बस्नेको संख्या धेरै रहेकाले एक आपसमा मनमुटाव भएर पछि छुटिँदा पुरुषभन्दा महिलालाई बढी प्रभाव पर्ने र त्यस्ता मानिस डिप्रेसन र एन्जाइटीको सिकार बन्ने गरेकाे उनी बताउँछन्। 

पाण्डेका अनुसार मानिसले जस्ता बिचार आफ्नो सामाजिक सञ्जालमा राख्छ, जस्ता भिडियो हेर्ने गर्छ, इन्टरनेटको एल्गोरिदमले त्यस्तै बिचार र भिडियो उसको सञ्जालमा ल्याउने हुँदा उसलाई त्यस्तै कुराको लत लाग्ने र मानिसलाई जुनसुकै कुरा पनि सामान्यजस्तै लाग्ने गर्छ। त्यसैले जुनसुकै बेला घटना हुन सक्ने उनले बताए। 

नेपालमा पछिल्लो समय सबैभन्दा धेरै देखिने मानसिक रोग भनेको एन्जाइटी रहेको उनले बताएका छन्। पाण्डेका अनुसार मन डराउने, मुटु ढुकढुक हुने, आत्तिने, सास फेर्न गाह्रो हुने, आफूलाई केही हुन्छ कि भनेर चिन्ता मानिरहनेलगायत एन्जाइटीका लक्षण हुन्। 

नेपालमा रहेको मानसिक रोगमध्ये दोस्रोमा भने अनिन्द्रा रहेको उनले बताए। ‘संसार नै हाम्रो मोबाइलमा छ, जसले गर्दा मानिस १२–१ बजे सुत्न थाले,’ उनले भने, मलाई आजकाल बच्चाहरूले के भन्छन् भने सर मेरो भोलि बिहान ७ बजे जाँच छ, सुत्दा २ बज्छ, उठ्दा १० बज्छ, म उठ्दा जाँच नै सकिन्छ, मलाई भोलि एकदिनलाई ६ बजे उठाइदिनुस् न भन्दै आउँछन्। यो अनिन्द्राको समस्याले कुन लेभलमा हानेको छ, हामीले गम्भीर रुपमा लिनुपर्छ। यो सबै कारण मोबाइल र इन्टरनेटको हो। यस्तो समस्या अहिलेसम्म मैले कहिल्यै देखेको थिइनँ।’ 

त्यस्तै, डाक्टर पाण्डेले मानसिक रोगमध्ये तेस्रोमा डिप्रेसन रहेको बताएका छन्। ‘मान्छे आफूले गरेकाे प्राप्ति प्रति सन्तुष्ट छैन,’ पाण्डेले उदाहरण दिँदै भने, ‘आफूले एक ठाउँमा जितेपनि मैले भन्दा राम्रो अर्काे मान्छेले गरेकाे छ,अर्काे भन्दा समाजले गरेको छ, समाज भन्दा देशले गरेको छ, यो देशमा भन्दा अमेरिकामा बस्नेले राम्रो गरेको छ। मान्छेले आफूलाई संसारसँग तुलना गर्न थाल्यो, संसार जित्नलाई त्यति सहज र त्यति छिटो पनि छैन। त्यसका लागि आफू स्वस्थ र मेहेनत गर्नुपर्छ सोचेर मात्र हुँदैन। सोच्दा सोच्दा मान्छेहरू डिप्रेसनमा जान थालेका छन्। ‘

आफूले दैनिक ६०–७० जना बिरामी हेर्दै गर्दा १५–२० जना बिरामी आत्महत्याको बिचार लिएर आउने गरेको डाक्टर पाण्डेले सुनाए। आत्महत्याको योजना बनाएका, गर्न प्रयास गरेका, हात काटेका, दबाइ खाएर आत्महत्या गर्न प्रयास गरेकालगायतका व्यक्ति आफूकहाँ आउने उनले बताए। 

आत्महत्याको दर बढ्नुको मुख्य कारण डिप्रेसन रहेकाे उनले जनाए। आफ्नो मनको भावलाई सही ढंगले प्रकट गर्न नसक्नु, नपाउनु र परिवार वा समाजले मौका नदिँदा मानिसले आत्महत्या गर्ने उनकाे भनाइ छ। त्यस्तै दोस्रोमा मादक पदार्थको लतका कारण रहेको उनले बताए।

‘पहिल्यैदेखि डिप्रेसनमा भएको कारण मानिसले रक्सी वा अन्य लागुपदार्थ खान्छ, त्यही खाएको झोकमा उसलाई आत्महत्या गर्न हिम्मत आउँछ, डिप्रेसनमा यस्तो पनि हुन्छ कि उसले आत्महत्या गर्न हिम्मत पनि गर्दैन र रक्सी खाएपछि उसको मोड एलिभेट हुन्छ अनि उसले आत्महत्याको प्रयास गर्छ, कसैले त आत्महत्या पनि गरिसकेका हुन्छन्’, उनले भने।

डाक्टर पाण्डेले आफूकहाँ मानसिक समस्या भएका मान्छे धेरै मात्रामा सल्लाह लिन मात्र आउने तर दबाइ खान नमान्ने, उपचार गर्न नमान्ने बिरामी आउने गरेको बताए।

‘मान्छे डिप्रेसनको अन्तिम चरणमा पुगेको छ, आत्महत्या गर्न तयार छ तर ऊ औषधि खान तयार छैन’, उनले भने , दबाइ खायो भने मेरो दिमाग बिग्रन्छ, म पागल हुन्छु कि भन्ने डरले भन्छ, म बरु लड्छु, आत्महत्याबाट पनि लड्ने प्रयास गर्छु तर म मानसिक रोगको दबाइ खान्न। यो खायो भने मैले जिन्दगीभर खानुपर्छ भन्ने डरले मानिस अस्पतालसम्म आइपुग्दा पनि सहयोग लिन डराएको छ।’

पछिल्लो समय बालबालिकाले पनि आत्महत्या गर्ने गरेका छन्। यसो हुनुको प्रमुख कारण इन्टरनेट रहेको उनको भनाइ छ। युट्युबको उदाहरण दिँदै उनले भने, ‘यसमा विश्वभरिका कुरा आउँछन् त्यसैमाथि बच्चाहरूले सबैभन्दा धेरै आक्रामक, हिंसा गरिरहेको कार्टुन हेर्छन्। कार्टुनमा बच्चालाई रमाइलो गराउन यस्ता कुरा राखिएको हुन्छ। यस्तो हेर्दा खुसी हुन्छन्। बच्चाले भनेको र सुनेको भन्दा हेरेर सिक्ने गर्छन्। त्यसैको आधारमा बच्चाले आफ्नो जीवनमा निर्णय गरेका हुन्छन्। सही र गलत के हो थाहा पाउँदैनन्। उनीहरू आफैँले घटाएको घटनासमेत थाहा पाउँदैनन्। त्यसैले तपाईंका बच्चाले के हेरिरहेका छन्, त्यसमा ध्यान दिनुहोस्।’ 

मानसिक रोग मनसँग सम्बन्धित भएकाले मन जतिबेला पनि कमजोर हुन सक्छ। जीवनमा कुनै चिजले प्रभाव पार्दा मनमा तनाव हुने र त्यो अवस्थामा कुनै काम गर्दा तनाव हट्ने भएकाले मानिस मानसिक रोगसामु नपुग्ने उनले दाबी गरे। 

तनावबाट मानसिक रोगसँग नपुग्नको लागि मर्निङ वाक वा इभिनिङ वाक गर्नुपर्ने उनको सुझाव छ। यस्तै योगा र प्रणायाम पनि गर्नुपर्छ। विज्ञानले प्राणायामसँगै मनको सिधा सम्बन्ध हुने कुरा प्रमाणित गरेको उनले बताए। यस्तो गर्दा डिप्रेसन र एन्जाइटीबाट बच्न सकिन्छ। तनावबाट मानसिक समस्या भएपछि मनोचिकित्सकसँग भेटेर औषधि खाने वा साइकोथेरापी गर्ने सल्लाहकारसँग बसेर बिभिन्न सेसन गर्न पनि डा. पाण्डेले आग्रह गरे।

सम्बन्धमा भएका झगडाका आधारमा मानिसले अचानक आत्महत्या गर्ने प्रयास गरेको अथवा गर्ने गरेको उनले बताए। पछिल्लो समय नेपालमा महिलाभन्दा बढी पुरुषले आत्महत्या गरेकाे तथ्याङ्कले देखाएकाे छ। पछिल्लो ५ वर्षको तथ्याङ्कका अनुसार महिलाभन्दा पुरुषले तीन गुणा बढी आत्महत्या गरेका छन्।

पुरुषले लामो समयसम्मको तनाव मनमा राख्ने, समाधान गर्न प्रयास गर्ने र समाधान नभएपछि आत्महत्या गर्ने गरेको उनको भनाइ छ। ‘हाम्रो समाजमा कस्तो चलन आएको छ भने पुरुषले टेन्सन लिनु हुँदैन, हार मान्नु हुँदैन भन्छन् यस्तो हुँदा पुरुषले आफ्ना मनमा लागको तनावहरू कहिँ गएर सेयर गर्न पाउँदैन र ऊ आत्महत्या गर्न बाध्य हुन्छ’, उनले भने, ‘हामीले यस्तो खालको समाज बनाएका छौँ कि केटा मान्छे भनेको ढुंगा हो कि भगवान हो कि, दैवि शक्ति होकि उसलाई त मनको समस्या हुन सक्दैन, जति पनि समस्या हुन्छ महिलालाई हुन्छ त्यो पनि कमजोर मन भएकालाई हुन्छ भन्ने खालको हाम्रो नकरात्मक सोचका कारण यस्ता घटनाहरू घटेका छन्। यसमा हाम्रो समाज र हाम्रो परिवार सबैभन्दा बढी दोषी छ।’ 

नेपालमा बढ्दै गरेको आत्महत्याको दर घटाउन मुख्य कुरा समाज र मानिसमा मानसिक समस्याप्रतिको चेतनशील हुनुपर्ने उनको भनाइ छ। ‘मानसिक रोग पनि अरु रोगजस्तै सामान्य रोग हो, यसलाई उपचार गरे ठीक हुन्छ, औषधि खाएर दिमाग बिग्रँदैन, डाक्टरले औषधि मेरै लागि दिएको हो भन्ने ज्ञान तपाईं–हामीमा हुनुपर्छ,’ उनले भने।

उनले आत्महत्याको दरमा कमी ल्याउन दोस्रो भूमिका भनेको  प्रत्येक मानिसमा यो समस्याप्रति चेतना हुनपर्ने बताए। उनका अनुसार मानिसमा यो समस्याप्रति चेतना भयो भने कुनै मानिसले त्यस्ता कुरा देख्नेबित्तिकै उसले समाधान गर्न वा आत्महत्या रोक्न सक्छ।

कुनै एक व्यक्ति मानसिक रोगबाट बच्न इन्टरनेट र मोबाइल कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ। २ देखि ३ घण्टा मोबाइल चलाउने मान्छेमा २ देखि ३ गुणा डिप्रेसन र एन्जाइटीको समस्या हुन सक्ने एक अध्ययनले दखाएको उनले बताए। पछिल्लो समय सम्बन्धबिच्छेदका घटना बढ्नुको मुख्य कारण एकअर्कालाई गर्ने सम्मानको कमीलाई भएको उनको बुझाइ छ।

विस्तृत भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?