
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुन: साविक च्याम्पियन म्यानचेस्टर सिटीले शीर्षता कायम गरेको छ। आइतबार राति उपाधि होडमा रहेका दुई क्लब आर्सनल र लिभरपुलले आफ्नै मैदानमा सिटी अनुकुल नतिजा अर्थात् हार भोगेपछि सिटी औपचारिक रूपमा उपाधि भिडन्तमा शीर्ष स्थानमा उक्लियो।
एस्टन भिल्लालाई हराउँदै आर्सनललाई शीर्ष स्थानमा पुग्ने अवसर रहेको खेलमा २-० ले पराजित हुन पुग्यो। अब अन्तिम चरणका ५ खेल बाँकी हुँदा सिटीले शीर्ष स्थानमा औपचारिक रूपमा पकड जमायो। अब सिटीले सबै खेल जितेमा लिभरपुल र आर्सनलले पनि आफ्ना खेल जितेपनि च्याम्पियन बन्ने छैनन्।
आइतबारको खेलमा आर्सनल एस्टन भिल्लासँग अन्तिम ६ मिनेट बाँकी रहँदा लगातार दुई गोल खान पुग्दा महत्त्वपूर्ण तीन अंक गुमाउन पुग्यो। आर्सनलविरुद्ध उत्कृष्ट लयमा देखिएको भिल्लाले सुरुवातबाटै आर्सनलमाथि गोलको प्रयास गरेको थियो।
त्यसअघि अर्को उपाधि दाबेदार लिभरपुलसमेत क्रिस्टल प्यालेससँग १-० ले पराजित हुन पुगेको थियो। आर्सनललाई स्तब्ध बनाउने क्रममा लियोन बेलीले ८४ औं मिनेटमा एस्टन भिल्लाका लागि पहिलो गोल गरेका थिए। दुई मिनेटपछि नै ओली वाटकिन्सले अग्रता दोब्बर बनाउँदा आर्सनल घरेलु समर्थकमाझ स्तब्ध बनेको थियो।
३२ खेलको समाप्तिसँगै लिग अंक तालिकामा सिटी ७२ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट आर्सनल र लिभरपुल ७१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
आर्सनललाई हराएको एस्टन भिल्ला टोटेनह्यामलाई पछि पार्दै ६३ अंकका साथ चौंथो स्थानमा रहेको छ।