
बार्यन लेभरकुसेनल ५ खेल बाँकी हुँदै जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ। आइतबार भएको खेलमा वर्डर ब्रेमिनलाई ५-० ले हराउँदै लेभरकुसेनले अपराजित रहँदै पहिलो पटक च्याम्पियन बन्न सफल भयो। १ सय १९ वर्षे इतिहासमा लेभरकुसेनले पहिलो पटक उपाधि जितेसँगै समर्थकहरू मैदानमा ओर्लिएर खुसी साटेका थिए।
लेभरकुसेनले उपाधि जितेसँगै लगातार ११ संस्करणदेखि बुन्डेस लिगमा एकछत्र राज गर्दै आएको बार्यन म्युनिखको वर्चस्व तोडिएको छ। पछिल्लो ११ वर्षमा पहिलो पटक वार्यन म्युनिखले बुन्डेस लिगा टाइटल गुमाएको हो।

टोलीले उपाधि जितेपछि मैदानमा ओर्लिएर खुसी साट्दै समर्थक।
साविक च्याम्पियन बार्यन म्युनिखले एफसी कोलनलाई शनीबार २-० ले हराएपछि लेभरकुसेनको उपाधि सेलिब्रेसन कम्तिमा एक दिन पछि सरेको थियो। जहाँ उसले आफ्नो सनसनीपूर्ण प्रदर्शन जारी राख्दै पहिलो पटक बुन्डेस लिगाको उपाधि जित्न सफल भयो।
१९९३ पछिको यो लेभरकुसेनको मुख्य ट्रफीसमेत हो। लेभरकुसेनले दोस्रो स्थानको बार्यनभन्दा १६ अंकको अग्रताका साथ ऐतिहासिक रूपमा उपाधि जित्यो। २९ खेल सम्म अपराजित रहेको लेभरकुसेनले २५ जित र ४ बराबरी गर्दै ७९ अंक बनाउँदा दोस्रो स्थानको म्युनिखको समान खेलबाट २० जित ३ बराबरी र ६ हार सहित ६३ अंकमात्र रहेको छ।
यो सिजन लेभरकुसेन ‘ट्रेबल’ जित्ने अभियानमा रहेको छ। लेभरकुसेन जर्मन कपको फाइनलमा पुगेको छ भने युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा वेस्टह्याम विरुद्ध २-० को अग्रतामा रहेको छ।
जाभी अलोन्सोले रेलिगेसन क्षेत्रमा संघर्षरत रहेको लेभरकुसेनलाई २०२२ को अक्टोबरमा सम्हालेका थिए। त्यसयता उनले टोलीलाई विश्वकै उत्कृष्ट टोलीका रूपमा विकसित गर्दै लगेका छन्।
उपाधि जितेपछि प्रशिक्षक जावी अलोन्सोले यो खुसी अविश्वसनीय रहेको बताए। उनले भने,’प्रशिक्षकको रूपमा यस्तो खुसी मेरो लागि पहिलो हो, जुन अविश्वसनीय छ।’
उपाधिपछि जर्मन परम्पराअनुसार बियरले नुहाइएका एलोन्सोले भने, ‘यो अविश्वसनीय खुसीको दिन हो, हामी यो खुसी परिवार, साथी र समर्थकका साथमा भव्य तरिकाले मनाउने छौं।’