काठमाडौं- प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन्।
सोमार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन्।
उनीहरूले विश्वविद्यालय र सबै शैक्षिक संस्थामा राजनीतिको गन्ध आउन दिनु नहुने बताए।
प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीतिक अन्त्य गर्नुपर्ने बताए।
उनले कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण, हस्तक्षेप र खेलवाड हुनेछैन भनेर राजनीतिक दलहरूले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए।
प्राध्यापक डा. अर्जुन कार्कीले विश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता, क्षमता र प्रतिवद्धताकै आधारमा छान्नुपर्ने बताए।
उनले दलीय निकटताको हिसावले नभएर योग्य मानिस र क्षमतावान मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने धारणा राखे।
भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्वन गर्ने बताए।
प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रुइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असिम ढकाल, डा. भगवान कोईराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ जना प्राज्ञिकहरू छन्।

भर्खरै
लोकप्रिय






































































































































































































