काठमाडौं- नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ उच्च अदालत, पाटनमा सुरु भएको छ। न्यायाधीश मुनेद्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा खाजा समयपछि सुनुवाई सुरु हुन लागेको हो।
जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन्। सन्दीपको मुद्दामा आजै फैसलाको सम्भावना रहेको छ।
यसअघि सन्दीप लामिछानेलाई १३ पुसमा निरन्तरको बहसपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो। जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपनि किशोरी नाबालिग नरहेको फैसला गरेको थियो। २५ पुसमा उनलाई अदालतले ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो।
त्यसपछि सन्दीप गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। त्यस्तै, १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा पुगेको थियो।
अदालतले गत २३ चैतमा औपचारिक रूपमा मुद्दालाई प्रवेश दिँदै आज (साेमबार) का लागि पेसी तोकेको थियो। पाटन उच्च अदालतमा न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुबै पक्षलाई नियमअनुसार जानकारी गराउन आदेश दिँदै आजका लागि पेसी तोकेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































