काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता आवश्यक नरहेको बताएका छन्।
सोमबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वाम एकताको तर्क गर्नु औचित्यहिन भएको उल्लेख गरेका हुन्। वाम एकता गरेर देश र सरकार दुवै चल्न नसक्ने दाबी गरे।
वाम दलबीच एकता गरेर पार्टी बलियो नहुने उनको धारणा थियो। माओवादी र एकीकृत समाजवादीतर्फ इंकित गर्दै ओलीले उनीहरुसँगको एकताले पार्टी बलियो नबन्ने बताए।
‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ, ओलीले बैठकमा भने, ‘यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम राख्नुहुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ।’
ओलीले एकता आवश्यक परेका बेला गरे पनि अहिले आवश्यक नभएको बताए। ‘एकता नै चाहिँदैन भन्ने होइन, ओलीले अगाडि भने, ‘एकता परेका बखत छानेर छानेर गर्छौ। पार्टी बिगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन।’
ओलीको अभिव्यक्तिले एमाले माओवादी समाजवादीसहितका दलहरु पार्टी एकता नै गर्ने दीर्घकालीन सोचका साथ सत्ता गठबन्धनमा आबद्ध भएको भन्ने दाबीलाई खण्डित गरेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































