काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले हङकङमाथि प्रभावशाली जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। सोमबार ओमानस्थित अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो। अन्तिम खेल बाँकी रहँदै नेपाल समूह विजेतासमेत बन्यो।
वर्षाका कारण १८ ओभरमा छोट्याइएको खेलमा हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय १५ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३२ रन बनाउँदा आसिफ शेखले ४० रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ७० रनको साझेदारी भएको थियो। त्यस्तै, कप्तान रोहित पौडेल २५ रनमा अविजित रहँदा उनलाई सन्दीप जोराले १९ रनमा साथ दिए। हङकङका लागि एहसन खान र यसिम मुर्तजाले समान १ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो। नेपालको कसिलो फिल्डिङसामु हङकङका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन्। नपालले हङकङविरुद्ध उत्कृष्ट फिल्डिङ गर्दै दुई ब्याटरलाई सानदार रनआउट गरेको थियो।
हङकङका लागि अन्सु रथले ३४ रन बनाउनु सर्वाधिक रहँदा कप्तान निजाकत खानले १२ रन बनाए। उनीहरुबाहेक मार्टिन कोट्जेले ८ रन बनाउँदा बाबर हायात ६ तथा अजिज खान ७ रनमा आउट भए। त्यस्तै, यशिम मुर्तजाले २ रन बनाउँदा नसरुल्लाह रानाले ६ रन बनाएर आउट भए। हङकङको राम्रो लयमा रहेका अन्सु रथ र निजाकथ खान डाइरेक्ट हिटको सिकार हुँदै रनआउट भएका थिए।
नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिँदा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए। करण केसीको नाममा एक विकेट रह्यो।
यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































