काठमाडौँ – नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेविरद्धको जबरजस्ती करण मुद्दामा उच्च अदालत पाटनले पीडित किशोरीले जन्मदर्ता लिन पेश गरेको कागज झिकाउन आदेश दिएको छ।
सोमबार न्यायाधीश मुनेद्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाण पत्र प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कल प्रति झिकाउन आदेश दिएको हो।
अदालतले सोमबारको आदेशमा भनेको छ, ‘जन्म मिति २०६२।०२।१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकोले मिति २०७९।०३।१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनी जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवं च.नं ७१२, मिति २०८०।०२।०९ को पत्रसाथ संलग्न भएको भनिएको मिति २०७४।०९।१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं। २ को कार्यालयबाट अबिलम्व माग गरी नियमानुसार पेश गर्नु।’
यसअघि सन्दीप लामिछानेलाई १३ पुसमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गरे पनि किशोरी नाबालिग नरहेको फैसला गरेको छ। २५ पुसमा उनलाई अदालतले ८ वर्ष कैद सहित ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।
उक्त फैसालविरुद्ध सन्दीपले गत १० फागुनमा उच्च अदालतमा पुनरावेदन दिएका हुन्। चैत १ गते सरकारी पक्ष पनि फैसलामा चित्त नबुझी पुनरावेदन गरेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































