
मोरङ – कोसी प्रदेश प्रमुख परशुराम खापुङले गोपालप्रसाद पराजुलीलाई प्रदेश सभा सचिवमा पुनः नियुक्त गरेका छन्।
सोमबार प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख खापुङले पराजुलीलाई पुनः सचिवमा नियुक्त गरेका हुन्।
वैशाख ८ गते ५ वर्षीय कार्यकाल पूरा गर्ने तयारीमा रहेका पराजुलीलाई वैशाख ९ गतेबाट लागू हुने दोस्रो पटक सचिवमा नियुक्त गरिएको हो। प्रदेश सभाका सूचना अधिकारी निरोज ढकालले भने, ‘सचिवज्यूको पुनः नियुक्तिसँग वैशाख ९ गते पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम छ। सो दिन सभामुखले उहाँलाई शपथ ग्रहण गराउनु हुनेछ।’
०७६ साल वैशाखमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएका पराजुली प्रदेश सभा सचिवमा नियुक्त भएका थिए।
सचिव पराजुलीले अब करिब २ वर्ष ४ महिनाको कार्यकाल प्रदेश सभामा बिताउने छन्। यद्यपि, प्रदेश सभा सचिवको कार्यकाल पाँच वर्षको रहने कानुनी व्यवस्था छ।