काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यता लगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ।
कार्यतालिका अनुसार वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, संगठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याउनु पर्ने, १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ।
त्यसैगरी, वैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजूरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजूरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ।
संगठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ। वैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको छ।
यसैगरी, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ। समितिको सदस्यमा शिवलाल थापा र मनिष कुमार सुमन रहेका छन्।
गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।
संगठित पार्टी सदस्यताको विवरण पठाउदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठित सदस्यहरुको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले संगठन विभागमा यथाशीघ्र पठाउनु पर्ने जसपाले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































