काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताएका छन्।
मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिनाभित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको पनि बताए।
उनले कोही एउटा शक्तिले आफू पूर्णरुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे। उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको दाबी गरे।
उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गरे। उनले सरकारको पुनःगठन भइरहने बताए।
‘तीन पटक विश्वासको मत १५ महिनाभित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ। अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ। मैले जे गरेँ, कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको, आइसोलेट भएको महशुस नगरोस् भन्ने हो। दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली कांग्रेसलाई दिउँ भन्ने थियो। मानिसहरुले अस्थिरताको आरोप पनि लगाए। तर गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो। तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै छ, सरकार निरन्तरतामै छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको उल्लेख गरे। उनले देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































