
काठमाडौँ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको सुरुवात भएको बताएका छन्।
मंगलबार काठमाडौँमा १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन गरेको बताए।
उनले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरु सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको बताए। उनले सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फर्फराउने बताए।
उनले भने, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गर्दा दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन हुँदै गरेकाले जुन कुरा हामीले अस्ति विभिन्न फोरममा भनेको थियौँ कि खेलकुदमा र युवाहरुमा नयाँ युगको सुरुवात भएको छ भनेर मैले त्यत्तिकै भनेको होइन। हो म स्वीकार्छु, केही नीतिगत कुराहरु सुधार्नु पर्नेछ।
तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नु पर्नेछ। यहाँ हामी सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भोलि राष्ट्रको झण्डा फर्फराउने छ। सबै मिलेर गर्दा खेलमा केही सुधार भएको छ।’