
काठमाडौँ – सञ्चारकर्मी नरेश भट्टराईलाई भ्याली ग्रुपले ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ।
काठमाडौँको बालाजुमा रहेको आफ्नो कर्पोरेट कार्यालयमा सोमबार ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले भट्टराईलाई ब्राण्ड एम्बेस्डरमा नियुक्तिको सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।
अध्यक्ष रावलले भ्याली ग्रुपको उत्पादनसँगै गुणस्तरीय मासुको प्रमोशन र जनचेतना जगाउन भट्टराईसँग सहकार्य गरिएको बताएका छन्।
सञ्चारकर्मी भट्टराईले भ्याली ग्रुपसँग आवद्ध हुन पाएकोमा खुसी ब्यक्त गरे। उनले कम्पनीको साखसँगै स्वस्थकर मासुको उपभोगका लागि उपभोक्ताहरुलाई सचेत र जागरुक गराउन प्रयास गर्ने बताए।
भ्याली ग्रुपको स्थापना २०४१ सालमा भएको हो। भ्याली कोल्ड स्टोर प्रालिबाट शुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग र पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्राण्डमा फास्टफुड चेन रेष्टुरेन्टमा समेत सफल व्यवसायिक समूह बनिसकेको छ।
भ्याली ग्रुपले मासुजन्य व्यापारसँग सम्बन्धित देशका विभिन्न स्थानमा फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योग, आधुनिक वधशाला र फाष्टफुड चेन सञ्चालन गरिरहेको छ भने पोल्ट्री व्यवसायसम्बन्धी खोज र अनुसन्धानमा समेत संलग्न रहकाे जनाएको छ।