
सिमकोट– जिल्लाभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका विद्यालयमा भने हालसम्म पुग्न नसकेको पाइएको छ।
लिमी जाने दुई वटा नाका हिमपातले बन्द भएका कारण पुस्तक लिमीको विद्यालयमा नपुगेका हुन्। लिमीको सुनखानी आधारभूत विद्यालयका प्रधानाध्यापकले सिमकोटमा आइपुगेका पाठ्यपुस्तक लिमी ल्याउन नसकिएको जनाएका छन्।
पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलबाट पुस्तक सो विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले बुझेको भए पनि लिमी जाने चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्ले न्यालु लेकमा हिउँ जमेकाले पाठ्यपुस्तक ढुवानीमा कठिनाइ भएको छ।
विद्यार्थीका लागि ३३ सेट पुस्तक उनले बुझेका छन्। यद्यपि प्रअ बुढा भने नारा लेकबाट पैदल हिडेर लिमी पुगि सकेका छन्। जिल्लाका १४५ वटा सामुदायीक विद्यालयमा पुस्तक पुगेर पठनपाठन भइरहेको छ। लिमीको सो विद्यालयमा अन्नवाली थन्क्याउने एक हप्ता र लोसार पर्वको बेला चार दिनबाहेक अन्य बेला पठनपाठन हुने गरेको छ। चैत २३ गतेबाट बार्षिक परिक्षा सुरु भएर सम्पन्न भई सकेको छ। आईतबारबाट भर्ना कार्य तीन दिनका लागि खोलिएको छ।
लिमीमा पुस्तक कहिलेसम्म ढुवानी गर्न सकिन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने उहाँले बताउनुभयो। कक्षा सातसम्म पढाई हुने सो विद्यालयका बिधार्थीहरुलाई पुराना पुस्तकबाट पढाई सुरु गरिने उनले बताए। सो विद्यालयमा १३ जना बालबिकासका विद्यार्थी छन् भने कक्षा एकमा चार जना, दुईमा चार जना, तीनमा तीन जना, चारमा दुई जना, पाँचमा तीन जना, छ मा दुई जना र सातमा दुई जना बिधार्थी अध्ययन गर्दै आएका छन्। लिमीका विद्यालयमा तोकिएको समयमा हालसम्म पुस्तक पुग्ने गरेका छैनन्।