
झापा- झापामा प्रतिबन्धित लागुऔषधसहित एकै दिन चार जना पक्राउ परेका छन्।
मंगलबार बिहान १० बजेको समयमा बिर्तामोड नगरपालिका- ३ स्थित बिराट आदर्श टोलमा बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापा ३९ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए।
मंगलबार साँझ थप तीन जना पक्राउ परेका छन्।
साँझ ६:१५ बजे मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्यांकीबाट पैदल आउँदै गरेका कमल गाउँपालिका ५ बस्ने २० वर्षीय मनिस मगरलाई शंका लागेर उनको शरीर तलासी लिँदा दाहिने हातमा झुण्ड्याई ल्याएको प्लाष्टिकको झोलाभित्र सेतो रंगको प्लाष्टिकको पोकामा १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।
उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मंगलबार साँझ ६ बजेको समयमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ९ घर भइ दमक नगरपालिका वडा नं.९ क्याम्पस मोडमा डेरा गरी बस्ने २४ वर्षीय सुजन दाहाल र दमक वडा नं. ९ बस्ने २६ वर्षीय भीष्म कँडेललाई बिशेष सूचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले खानतलासी लिँदा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो।
दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।