
इलाम- इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न मतदान सुरु भएको छ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनअन्तर्गत मतदानका लागि इलाम क्षेत्र नं २ का मतदाता मतदानस्थलहरूमा लामबद्ध छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम- २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदै छ। जहाँ ७४५ जना कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। साँझ ५ बजेसम्म मतदान हुनेछ।
पुरुष तथा महिलाका लागि अलग/अलग लाइनमा बसेर मतदान गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार ३९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशील र १९ वटा अति संवेदनशील मतदान केन्द्र रहेका छन्। सोहीअनुसार सुरक्षाकर्मीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन्। यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन्।