
इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न उक्त क्षेत्रका मतदाताले मतदान गरिरहेका छन्। शनिबार बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
आज बिहान ७ बजेबाट सुरु भएको मतदान जारी रहेको हो। मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदानजस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम रहेको छ।
सदरमुकाम इलामबजार वरपरका मतदान केन्द्रहरूमा भीडभाड कम भएकाले मतदाताले पाँच मिनेटमै मतदान गरेर बाहिरिएको प्रतिक्रिया दिएका छन्।
इलाम नगरपालिका वडा नं ५ को कार्यालयमा रहेको मतदान केन्द्रमा मत हालेर निस्केका भोजबहादुर घिमिरेका अनुसार पहिलाको तुलनामा अहिले मतदाता धेरै कम मत हाल्न आएका छन्।
उनले भने, ‘अहिले मतदाता धेरै कम पाइयो। एकैछिनमा भोट हालिर निस्किएँ।’ अर्का मतदाता मित्रलाल काफ्लेले पनि सजिलैसँग मत हाल्न पाएको बताए। उनले भने, ‘एक ठाउँमा मात्र भोट हाल्नुपर्ने भएकाले पनि सजिलो भयो।’
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनअन्तर्गत मतदानका लागि इलाम क्षेत्र नं २ का मतदाता मतदानस्थलहरूमा लामबद्ध छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम- २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदै छ। जहाँ ७४५ जना कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। साँझ ५ बजेसम्म मतदान हुनेछ।
४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन्। यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन्।