
इलाम – इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानपश्चात मतपेटिका संकलन गर्न थालिएको छ।
मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको हो।
बेलुका ५ बजेसँगै मतदानको समय सकिएको हो। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।
मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। मतगणना आइतबार बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए।
उनका अनुसार सबै मतपेटिका संकलन हुन मध्यरातसम्म लाग्नसक्छ। मतपेटिका संकलन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना सुरु हुने बताइएको छ।