
इलाम- इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणनाका लागि सर्वदलीय बैठक जारी छ ।
बैठक सम्पन्न भएपछि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ।
शनिवार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मतदानपश्चात रातभर मतपेटिका संकलन गर्न समय लागेको थियो।
मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको हो।
सभागृहका दुई स्थानमा मतगणनाका लागि तयारी गरिएको छ। निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।