
इलाम- इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेबाट सुरु हुने भएको छ। मतगणनाका लागि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो।
शनिबार भएको मतदानपश्चात रातभर मतपेटिका संकलन गर्न समय लागेको थियो। मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको हो।
सभागृहका दुई स्थानमा मतगणनाका लागि तयारी गरिएको छ। निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो, जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।