
सिमकोट – ६ महिना हिमपातले सडक बन्द हुने भएको कारण प्राकृतिक बन्दाबन्दीमा पर्ने नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको सुनाखानी आधारभूत विद्यालयका विद्यार्थीलाई आवासीय सुविधाको व्यवस्था गरिएको छ।
विद्यालयमा अध्ययनरत बालविकासका बाहेक त्योभन्दा माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको हो।
प्रधानाध्यापक कर्णजित बुढाले नयाँ शैक्षिक सत्र सुरु भएसँगै लिमीको सुनखानी आधारभूत विद्यालयमा आवासीय सुविधासहित पठनपाठन सुरु भएको बताए।
प्रअ बुढा केही समयअगाडि मात्र विद्यालयमा पुगेका हुन्। वडा र अभिभावकको निर्णयअनुसार विद्यालयले यो व्यवस्था गरेको हो।
यसअघि उक्त विद्यालयले बिहानको खाना विद्यालयमा पकाएर खुवाउने व्यवस्था गरेर बिहान आठ बजेबाट पढाइ सुरु गर्दै आएको थियो।
विद्यालयका लागि नयाँ भवन निर्माण गरिएको स्थानमा होस्टेलका लागि भवन तयार भएपछि विद्यार्थीलाई सो स्थानमा राखेर आवासीय सुविधा दिन थालिएको छ।
होस्टेल भवन निर्माण गरिएको स्थानमा कक्षा कोठाका लागि भवन निर्माण भइरहेकाले विद्यालय भने अहिलेकै स्थानमा छ।
केही समयपछि सो भवन निर्माण हुने र त्यसपछि मात्रै पठनपाठन र आवासी सुविधा एकै स्थानमा हुनेछ। लिमीका वडाध्यक्ष पाल्जोर तामाङ गुणस्तरीय शिक्षा प्राप्तिका लागि विद्यालयले आवासीय सुविधा प्रदान गरेको बताए।
विद्यार्थी घरमा बस्दा बिहान–बेलुका पढनपाठनमा समेत अभिभावकले ध्यान नदिएको पाइएकाले पनि विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको होे। विद्यार्थीलाई बस्न निःशुल्क भए पनि खानाको व्यवस्था भने अभिभावकले गर्दै आएका छन्।
कक्षा सातसम्म पढाइ हुने सो विद्यालयमा १३ जना बालविकासका विद्यार्थी छन्। ती बालबालिका भने घरबाटै विद्यालयमा आउने गर्छन। कक्षा एकमा चार जना, दुईमा चार जना, तीनमा तीन जना, चारमा दुई जना, पाँचमा तीन जना, छ मा दुई जना र सातमा दुई जना गरि बीस जना विद्यार्थी होस्टेलमा बस्दै आएका छन्।
लिमी अन्य दुई गाउँ तील र हल्जीका विद्यालयहरु भने बन्द भई सकेका छन्। त्यहाँ विद्यार्थी नभएपछि गाउँपालिकाले विद्यालय बन्द गरेको हो।