
इलाम- इलामको क्षेत्र नं २ बाट दुई पटक चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का ‘अभागी’ सावित भएका छन्।
यस अघिको संसदीय चुनावमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग उनी हारेका थिए। उनै संविधानसभा अध्यक्ष नेम्बाङको निधनपछि भएको उपचुनावमा उनकै छोरा सुहाङसँग पनि हारेका छन्।
यसपटकको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जित हासिल गरेर संसदीय यात्राको सुरुवात गरेका हुन्। उनले बुवाको विरासत जोगाउँदै उपचुनावमा विजयी बने।
गएको चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनाएको गठबन्धनमा पनि १४४ मतको अन्तरले खड्का चुनाव हारेका थिए। अहिले सुहाङसँग पनि हारे। यसपाली त झन् ५ हजार ८३० मतको फराकिलो अन्तरले उनले चुनाव हारेका हुन्।
सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ मत पाएका हुन्।
२०७९ मा सुवासले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।