काठमाडौँ- कलाका सबै विधामा हात चलाएका अशोकमान सिंह आफैँ भने आफूलाई डिजाइनर भन्न रुचाउँछन्। देशसञ्चार चौतारीको यस अंकमा उनले पाल्पामा करिब ५० वर्षअघि सिडिओले ठगेको दुखदेखि अहिले विद्यार्थीलाई पढाउँदासम्मका रोचक अनुभवहरु सम्झना गरे।
पाल्पाका तत्कालीन सिडियोले राजा वीरेन्द्रसँग आफ्नोबारे झुटो बोलेको प्रसंग सम्झिए कलाकार सिंहले। अष्टमातृकाका ९ वटा पेन्टिङ बनाएको पारिश्रमिकमा मात्र ठगेनन् ती सिडिओले, राजा वीरेन्द्रकै अगाडि आफूले बनाएकाे कलाको श्रेय आफूलाई दिएनन्। ‘पछि ती सिडियो बर्खास्त हुँदा म खुसी भएँ,’ उनले भने।
२०३६ सालमा पाल्पाबाट काठमाडौँ आएका सिंहले नेपाल ट्राभलर म्यागेजिनको डिजाइन सम्हाले। कामना प्रकाशनमा लामो समय काम गरे। कार्टुन बनाए। पेन्टिङ बनाए। इलस्ट्रेसन बनाए। नयाँ नयाँ डिजाइन बनाए। पोट्रेट बनाए। ‘पोट्रेटमा एकदमै गहिरोसँग काम गर्न मलाई मन पर्छ,’ उनले भने।
सरलतालाई जीवनको परिचय बनाएका सिंह काम गर्दा समय बितेको पत्तो पाउँदैनन्। देशसञ्चार अन्तर्क्रियाका क्रममा उनले आफू हुस्सु बनेका, दूध बनेर रङ पिएका, पत्रिकाका ग्राहकहरुले घोक्रेठ्याक लगाएकासम्म प्रसंग सम्झिए। उनले उपन्यास पनि लेखेका छन्। चित्रकथा पनि लेखेका छन्। धाराबाहिक रुपमा उनले साधना पत्रिकामा लेखेको ‘पटाचारा’ शीर्षक उपन्यास पछि उनले अलग्गै पनि निकाले। कलाकारका रुपमा आफ्नो कुनै खास रङ नरहेकाे पनि उनले बताए। ्
पहिलो पारिश्रमिक रुपमा २ रुपैयाँ लिएका उनले कलाका क्षेत्रमा लागेर आफूले लाखौँ रुपैयाँ पनि पारिश्रमिक लिएको सम्झिए। ‘विदेशमा एउटै पेन्टिङको ६ लाख रुपैयाँसम्म पारिश्रमिक लिएको छु,’ उनले सम्झिए।
उनले विभिन्न फन्ट पनि सिर्जना गरेको उनले बनाए। ‘आकृति भन्ने फन्ट मैले बनाएको हुँ,’ उनले भने।
आफू बढीजसो पोट्रेट र व्यक्तिका चित्रमा लागेको तर अमूर्त चित्र आफ्नो क्षेत्र नभएको पनि उनले खुलाए।
समाचारपत्रमा काम गर्दा रातको २ बजेसम्म काम गर्नुपर्ने र कहिलेकाहिँ प्रकाशकका रुपमा बिहानै पाँच बजे कार्यालय पुग्नुपरेको सम्झना पनि उनले गरे। ‘बिहानै पाँच बजे फोन आयो, जाँदा म प्रकाशक भनेर चिन्नेबित्तिकै कठालो समातेर थेचारिहाले, बधाईको ठाउँमा समवेदना, समवेदनाको ठाउँमा बधाई भएछ,’ उनले सम्झिए।
प्रविधि र एआइका कारण कलाकार र सिर्जनाले कहिल्यै डराउनु नपर्ने उनले बताए। ‘म म्यानुअलमा काम गर्ने मान्छे, अहिले डिजिटलको युग आएको छ तर प्रविधि र एआइसँग सिर्जना डराउनु पर्दैन,’ सिंहले देशसञ्चार अन्तर्क्रियाका क्रममा भने।
अशोकमान सिंह गरिएकाे देशसञ्चार चौतारीको पूर्ण भाग:

भर्खरै
लोकप्रिय






































































































































































































