
सिमकोट – नेपाल र चीनको सिमा नाका हिल्सामा क्वारेन्टाईन स्थापना गर्न हुम्लावासीले माग गर्नु भएको छ। हाल क्यारेन्टाईनको स्थापना नभएको कारण हुम्लाबाट चीनतर्फ लैजाने सामाग्रीहरु लिन नपाईने भएको कारण जिल्लावासीले यो माग राख्नुभएको हो।
जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले दुई देशको महत्वपूर्ण सीमा क्षेत्र हिल्सामा क्वारेन्टाईन स्थापना गर्न नेपाल सरकारसँग माग गरे।
उनले हाल हिल्सामा क्वारेन्टाइन नभएको कारण हुम्लामा उत्पादन हुने दैनिक उपभोग्य सामग्री, जडीबुटीलगायत कुनै पनि सामान चीनतर्फ लिन नपाईने भएको कारण त्यसको स्थापना गर्नु आवश्यक रहेको बताए। केही समय अगाडिसम्म चीनको ताक्लाकोटमा हुम्लाबाट फलफूल, रैथाने बालीको अन्न, जडिबुटी, फुरु लगाएतका सामानहरु लिने गरिन्थ्यो। यी सामानहरु ताक्लाकोटमा निकै महँगोमा बिक्री हुने गर्छ।
हाल चिनियाँ पक्षले क्वारेन्टाइन नभएको भन्दै ती सामान लिन बन्द गरेको छ। अध्यागमन र भन्सार भएपनि क्वारेन्टाइन नभएको कारण जिल्लावासीको सामान ताक्लाकोट लिन सकिने अवस्था रहेको छैन।
त्यसैले उनले हिल्सामा जसरी पनि सरकारले क्वारेन्टाईन स्थापना गर्नेतर्फ लाग्नुपर्ने बताए।
केही दिनअगाडि जिल्लामा सर्वपक्षीय बैठक बसेर हिल्सामा क्वारेनटाईन स्थापनाका लागि सरकारसंग माग गर्ने र त्यसका लागि जिल्लाको जनप्रतिनिधिहरुको टोली काठमाडौं डेलिगेशन गएर मन्त्री भेट्ने कार्यक्रम तय गरिएको छ।
सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले हिल्सामा क्वारेन्टाईन स्थापना भए हुम्लावासीले धेरै सामान ताक्लाकोट बिक्री गरेर कमाई हुने बताउँदै यसतर्फ सरकारले बेलैमा बिचार पुर्याउन आग्रह गरे। सरकारले हिल्सामा क्वारेन्टाईन स्थापना गरेर आर्थिक कमाइ गर्ने बाटो खोले जिल्लावासी आफ्नो रैथाने बाली र जडीबुटीको उत्पादन बृद्धिमा लाग्ने देखिएको छ।
यसबाट जिल्लावासीलाई मात्र नभएर राष्ट्रलाई पनि फाईदा पुग्ने भएको कारण समयमै यसतर्फ शोच्नु पर्ने बेला आएको छ। हाल हिल्सामा क्वारेन्टाइन नभएकै कारण चिनियाँ सामान एकतर्फ मात्र नेपाल आउने गरेको छ।