
झापा- विगत पाँच दिनको फरकमा झापामा स्कुलबसका दुईवटा दुर्घटना भएका छन्।
हिजो भएको एरा एभरग्रिनकाे स्कुलबस दुर्घटना भएको पाँच दिनअघि बिर्तामोड ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा दुईवटा स्कुल बस एक आपसमा जुधेका थिए।
तीव्र गतिका कारण तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस एकआपसमा जुध्दा चालक र सहचालक गरी दुईजना घाइते भएका थिए।
सो घटना भएको पाँच दिनपछि हिजो बुद्धशान्तिस्थित बुधबारे पुलचोकको हडिया पुलमा एरा एभरग्रिन स्कुलको बस पल्टिएको थियो।
गत मंगलवार बिर्तामोडमा दुर्घटनामा र हिजो बुधवारेमा दुर्घटना हुँदा ती स्कुल बसमा विद्यार्थी सवार थिएनन्। त्यही कारण ठूलो क्षति हुन पाएन।
झापाका विभिन्न विद्यालयका स्कुल बस तीव्र गतिमा चलाउने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।
चालकको लापरवाहीका कारण स्कुल बस दुर्घटना बढ्दै गएको कार्यालयको निष्कर्ष छ।
चालकलाई सचेत नगराए अझ ठूलो दुर्घटना हुने देखेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्कुलबसका चालक तथा सहचालकहरूलाई अभिमुखीकरण गर्न थालेको छ।
शुक्रवार बिर्तामोडको न्यूटन्स एजुकेसन एकेडेमी र तक्षशिला एजुकेसन फाउन्डेसनमा कार्यरत सवारी चालक तथा सहचालकहरूलाई कार्यालयमा उपस्थित गराई ट्राफिक सचेतना तथा अभिमुखीकरण कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
दुई–दुई वटा विद्यालयको दरले जिल्लाका सबै विद्यालयका सवारी चालक र सहचालकहरूलाई अभिमुखीकरण गरिने प्रहरी निरीक्षक न्यौपानेले बताए।
गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ।
झापामा गति मापन गर्ने यन्त्र नभएका कारण सवारी साधनको गति मापन गर्न सकिएको छैन।
स्कुलबसका चालकहरूलाई नसिहतसहित सम्झाउने बुझाउने गरिएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।