
अ
+
अ
अ
-
सुरुङ्गा (झापा) – ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ।
झापाको बिर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६४ रोगीलाई औषधि उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराइएको छ। बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका अधिकृत राजीवकुमार विष्टका अनुसार बिर्तामोड नगरपालिकाले अघिल्लो आर्थिक वर्ष यस्ता रोगीका लागि झन्डै रु एक करोड वितरण गरेको हो। यो आर्थिक वर्षका लागि समेत नसर्ने गम्भीर प्रकृतिका दीर्घरोगीको औषधि उपचार खर्चबापत प्रदान गरिने रकम सरकारसँग माग गरिएको उनको भनाइ छ।
बिर्तामोड नगरपालिकाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने यहाँ क्यान्सर रोगीको सङ्ख्या धेरै पाइएको छ। बिर्तामोडमा एक सय २६ जना क्यान्सर रोगीले सरकारले उपलब्ध गराउँदै आएको मासिक रु पाँच हजार नियमित लिँदै आएका छन्। बिर्तामोडमा क्यान्सर पछि मिर्गौला रोगी धेरै देखिएका छन्। नगरका ३४ जना मिर्गौला रोगीले सरकारले उपलब्ध गराएको औषधि उपचार सुविधा लिँदै आएका छन्।
त्यस्तै, चारजनामा मेरुदण्डको पक्षाघात देखिएको छ। उनीहरुले समेत मासिक रु पाँच हजार औषधि उपचारका लागि खर्च लिँदै आएका छन्। चालु आर्थिक वर्षका लागि पनि यस्ता रोगीले पाउँदै आएको रकम प्रदान गर्ने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका अधिकृत विष्टका अनुसार सुविधा पाउँदै आएका रोगीका विषयमा बुझ्ने काम भइरहेको र उनीहरुलाई जतिसक्दो चाँडो रकम प्रदान गर्ने तयारी भइरहेको छ।
सरकारले गम्भीर प्रकृतिका बिरामीका लागि औषधि उपचार गर्न सहयोग पु¥याउने उद्देश्यले २०६८ सालमा कार्यविधि बनाएर यस्ता रोगीलाई औषधि उपचार खर्च प्रदान गर्दै आएको छ। सोही कार्यविधिअनुसार हाल देशभरका ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि तयार गर्दै अघिल्लो आर्थिक वर्षबाट यस्ता बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको हो। मन्त्रालयले तयार गरेको कार्यविधिको दफा २ (ख) मा मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका र क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइसकेका बाहेकका चिकित्सकले तीन–तीन महिनाभित्र निरन्तर निगरानी ‘क्लोज फलोअप’ राखेका व्यक्तिलाई यो सुविधा प्रदान गर्ने गरिएको छ।
यसैगरी, मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिलाई पनि सरकारले औषधि उपचार खर्च प्रदान गर्दै आएको छ तर सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा सङ्गठनबाट रोजगारी निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी ‘पेन्सन’ प्राप्त गरिरहेको व्यक्तिले भने यस सुविधा लिन नसक्ने कार्यविधिमा उल्लेख छ।
यसैगरी, सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एक रोज्नुपर्नेछ। एकभन्दा बढी रोग लागेकाले पनि दोहोरो भत्ता नपाउने कार्यविधिमा उल्लेख छ।
नसर्ने रोगका कारण नेपालमा वार्षिक एक लाख ३७ हजारजनाको मृत्यु हुने गरेको जनाइएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कमा वार्षिक कूल मृत्युदरको ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेकोे छ।