
सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका आठ वटै वडा पूर्ण खोप सुनिश्चित घोषित भएका छन्।
पछिल्ला दुई दिनमा वडा नम्बर ५ र ६ वडा घोषित गरिएपछि सबै वडा पुर्ण खोप सुनिश्चित घोषित भएका हुन्।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले आठ वटा वडालाई पुर्ण खोप सुनिश्चित घोषित भएको बताए। ती वडामा उमेर समुह अनुसार निर्धारित सबै खोप लगाउने कार्य पुरा भएपछि वडालाई घोषणा गर्ने कार्य भएको होे।
सबै वडालाई घोषणा गर्ने कार्य पूरा भएपछि संयुक्त अनुगमनको प्रतिबेदनका आधारमा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम छ।
यसैबीच, सिमकोट गाउँपालिका– ६ लाई पुर्ण खोप सुनिश्चित वडा घोषित गरिएको छ। वडा भित्रका सत प्रतिशत बालबालिकाले तोकिएका खोपहरु लगाउने कार्य पुरा भएपछि एक कार्यक्रमको आयोजना गरि वडालाई पुर्ण खोप सुनिश्चित घोषित गरिएको हो। उक्त वडा हेर्दै आएका स्वास्थ्यकर्मी राजु रावतले वडाभित्र रहेका सबै बालबालिकाले तोकिएका खोप लगाउने कार्य पूरा भएपछि वडाध्यक्ष नन्द रावतको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषित गरेको बताए।
सोह्र महिनादेखि ५९ महिनासम्मका ४४ जना बालबालिका वडामा रहेकोमा ती सवै बालबालिकाले तोकिएका बाह्र प्रकारका खोप लगाउने कार्य पूरा भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषित गरिएको हो।
ती बालकालिकालाई विसिजी, डिपिटी, हेब्बी, एफआईविवि, पोलियो, दादुरा, जेई, टाईफाईडलगायत बाह्र प्रकारका खोप लगाएको कारण वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष रावतसहित वडा सदस्य र स्वास्थ्यकर्मीहरुको उपस्थितीमा यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरिएको थियो।