काठमाडौँ- कवि तथा कथाकार उपेन्द्र सुब्बाको परिचय अहिले फिल्म निर्देशकका रुपमा फेरिएको छ। निर्देशकका रुपमा उनको दोस्रो फिल्म ‘मनसरा’ अहिले देशभरिका सिनेमाघरहरुमा प्रदर्शन भइरहेको छ।
सुब्बा यसपटक देशसञ्चार चौतारीमा अतिथि बने र आफ्ना संघर्ष र यात्रा देशसञ्चारकर्मीमाझ बाँडे।
कुनै समय पैसा नभएर जोगी बन्ने सुर कसेका उपेन्द्र सुब्बाको खल्तीमा अहिले पनि सुको हुँदैन। ‘अहिले त पैसा चाहिँदैन पनि, बोलायो भने लिन साथी आउँछन्, पैसा पनि कसैले तिरिदिन्छ,’ उनले सम्झिए।
कुनै समय पैसा नभएर कालोपुलदेखि जावलाखेलसम्म हिँडेरै तय गरेका उपेन्द्र सुब्बालाई पैसा नभएकै कारण कुनै दुख भन्ने महसुस गर्नु परेको छैन। ‘पैसालाई मैले जीवनको महत्त्वपूर्ण चिज मैले कहिल्यै मानिनँ,’ उनले भने।
लिम्बु जातिका प्रसंग र संस्कृति कविता र कथामा ल्याउने उपेन्द्र सुब्बाले अहिले सिनेमामा पनि लिम्बु संस्कृति र कथाहरु नै समेट्छन्।
रक्सी खाएर कसैले राम्रो सिर्जना गर्न नसक्ने उनी बताउँछन्। ‘रक्सी खाएर मानिसले दुख भुल्छ होला तर राम्रो सिर्जना गर्छ होला भन्ने मलाई लाग्दैन,’ उनले भने।
सिनेमा बनाउन थाल्दा आफ्नो कविमन सुस्त भएको उनी बताउँछन्। ‘अहिले त घाम डुब्दा पनि मलाई छुँदैन, पछि चाहिँ म फिल्म बनाउन छाडेर कविता नै लेखेर बस्छु,’ उनले भने।
अहिले पनि कविता लेख्ने उल्लेख गर्दै उनी आफ्नो कविसंगत भने जारी नै राख्ने बताउँछन्। उनले छोरीमाथि डिएभी स्कुलले गरेको व्यवहारले आफूलाई चित्त दुखेको बताउँछन्। ‘म पछि पनि बालबालिका र शिक्षाबारे काम गर्न चाहन्छु, चित्त दुखेर मैले सामाजिक सञ्जालमा स्टाटस लेखेको हुँ,’ उनले भने।
कुनै बेला जेब्राक्रसमा हिँडिरहेको बेला कसैले ‘ओए झाँक्री’ भनेर बोलाउँदा आफूलाई रिस उठेर गइरहेको कार्यक्रम नै रद्द गरेको उनले बताए। ‘अहिले पनि मलाई झाँक्री भनेर रिस नउठे पनि खुसी पनि लाग्दैन,’ उनले भने।
आफूले कुनै समय उपन्यास भनेर लेखेको रचना नै सिनेमामा परिणत भएको उनी बताउँछन्। ‘सिनेमा लेख्न निकै धैर्य चाहिने रहेछ, उपन्यास लेख्न नसकेर लेख्दै गरेको चिज मैले ‘जारी’ बनाएँ,’ उनले भने।
वार्ताका क्रममा मिठो शैलीमा हाँस्ने उपेन्द्र सुब्बाको सरल स्वभाव र कविमन पटकपटक अन्तर्वार्ताका क्रममा प्रकट भएको छ।
देशसञ्चार चाैतारीको पूर्ण भाग:

भर्खरै
लोकप्रिय






































































































































































































