
सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषित गरिएको छ। गाउँपालिकाका आठ वटै वडाका बाह्र वटा स्वास्थ्य संस्था अन्तर्गतका बस्तीका निर्धारित उमेर समूहका बालबालिकाले सबै प्रकारको खोप लगाउने कार्य पूरा भएपछि गाउँपालिकालाई एक कार्यक्रम आयोजना गरी घोषित गरिएको हो।
गाउँपालिका स्वास्थ्य शाखाले सार्वजनिक कार्यक्रम आयोजना गरेर सिंगो गाउँपालिकालाई पूर्ण खोप सुरक्षित भविष्य भन्ने नाराका साथ पूर्ण खोप दिगोपना सुनिश्चत घोषित गरेको हो।
यसअघि गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप दिगोपना सुनिश्चित गरिएको थियो। त्यसपछि स्वास्थ्य शाखाले स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल सहितको सरोकारवाला पक्षको स्थलगत रुपमा स्वास्थ्य संस्थामा संयुक्त अनुगमन टोलीले गरेको अनुगमन प्रतिवेदनका आधारमा बिहीबार एक कार्यक्रम आयोजना गरेर घोषणा गरिएको होे।
साउन ५ गतेबाट शाखाले यो प्रक्रिया अगाडि बढाएको थियो। गाउँपालिकाका आठ वटै वडाका जन्मेदेखि १५ महिनाका २०६ जना बालबालिका र सोह्रदेखि ५९ महिनाका ५ सय ३७ बालबालिकाले १२ प्रकारका खोप लगाउने कार्य पूरा भएपछि सबै स्वास्थ्य शाखाले छुटेका बालबालिकाका लागि खोज र खोप अभियान सञ्चालन गरेर सय जना बालबालिकालाई पुनः खोप लगाएको थियो।
यसका लागि गाउँपालिकाभित्र १३ वटा खोप केन्द्र र दुई वटा घुम्ती खोप केन्द्र रानी सैना र चुँवाखोलामा सेवा प्रदान गरिएको थियो।
सबै बालबालिकाले बाह्र प्रकारका खोप लगाएपछि १३ वटा रोगबाट बच्न सहज भएको छ। ती बालकालिकालाई विसिजी, डिपिटी, हेब्बी, एफआईविवि, पोलियो, दादुरा, जेई, टाईफाईडलगायत १२ प्रकारका खोप लगाइएको थियो। घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष विजय भण्डारीले सबै बालबालिकालाई खोपको दायराभित्र ल्याउन सफल भएकामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई धन्यवाद दिए।
कार्यक्रममा गाउँपालिकाले स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। यस वर्ष जिल्लाका सात वटा गाउँपालिकामध्ये सिमकोट पहिलो पूर्ण खोप सुनिश्चित घोषित भएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अम्रित सुवेदी, उपाध्यक्ष सुशिला भाम रोकाया, राजनीतिक दल लगाएको उपस्थिति थियो। कार्यक्रममा सरोकारवाला पक्षले शुकामनासमेत दिएका थिए।