
पोखरा – पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघले प्रतियोगिता आयोजना गरेको हो। जेठ २ देखि ५ गतेसम्म नेपाल छन्त्याल समाज नदीपुरको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगितामा १२ टिम सहभागी गराइने खेल संयोजक अमृत लामा गुरुङले जानकारी दिए। राष्ट्रिय प्रतियोगिता खेलका बढीमा ३ जना खेलाडीलाई टीममा समावेश गर्न पाउने उनले बताए।
विजेताले एक लाख २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता, तेस्रो र चौंथो हुनेले क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पार्नेछ। उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर, उदयमान खेलाडी, प्रशिक्षकलाई पनि पुरस्कृत गरिनेछ।
भलिबल खेलमा युवाको सहभागिता बढाउदै नयाँ प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले जानकारी दिए।
नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले गण्डकीका प्रदेशका ९ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका विधाहरु सञ्चालन गर्दै आएको बताए।