
काठमाडाैँ – सुदूरपश्चिम प्रदेश र एपिएफले जारी ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमले कोशी प्रदेश र एपिएफले वागमती प्रदेशलाई हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकालेका हुन्। यता, कोशी र वागमतीको भने यो लगातार दोस्रो हार हो। सुदूरपश्चिमले कोसीलाई १९ रनले हराउँदा एपिएफले वागमतिमाथि आठ विकेटको रबाफिलो जित निकाल्यो। पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर–११ र एपिएफले कोसीलाई हराएको थियो।
कुल पाँच टोली सहभागी प्रतियोगितामा समान दुई खेलबाट दुई जित निकाल्दै सुदूरपश्चिम र एपिएफले फाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्। सोमवारको पहिलो खेलमा वागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ औं ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा ग¥यो। एपिएफकी ममता चौधरीले ३५ रनमा अविजित रहिन्। इन्दु बर्माले १७ रन, कप्तान सीता रानमगरले ११ रन जोड्दा राजमति ऐरी १० रनमा अविजित रहिन्।
वागमतीको बलिङमा लागि खुशी डंगोलले एक विकेट लिइन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वागमतीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको सामान्य योगफल बनायो। वागमतीकी ओपनर हेनिशा गुरुङले ३१ रन जोड्दा खुशी डंगोल १४ रनमा अविजित रहिन्। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। एपिएफको बलिङमा करुणा भण्डारीले चार ओभरमा चार विकेट लिँदा १० रन मात्र दिइन्। सीता रानामगरको नाममा दुई विकेट रह्यो।
दोस्रो खेलमा सुदूरपश्चिमले दिएको ११३ रनको मध्यम लक्ष्य पछ्याएको कोशीले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो। कोशीका काजल श्रेष्ठले ३३ रन र कप्तान अप्सरी बेगमले २३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा कोसीले दोस्रो हार व्यहो¥यो। सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, लक्ष्मी साउद, जानकी थापा र कप्तान विन्दु रावलले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमकी सम्झना खड्काले सर्वाधिक ५४ रनको योगदान दिइन्। उनले ५१ बलमा चार चौका हिर्काइन्। ऋतुले २३ रन र विन्दु रावलले १४ रन जोडे। कोसीको बलिङमा सवनम राई, हिरणमयी रोय र संगीता राईले समान दुई लिए। एलिसा खडियाले एक विकेट निकालिन्।