
मोरङ – विराटनगर महानगरका मेयर नागेश कोइरालाले स्वस्थ रहनका लागि चिकित्सकसंग नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
विश्व रक्तचाप दिवसका अवसरमा शुक्रबार बिहान आयोजित वाकाथनका क्रममा मेयर कोइरालाले रक्तचापलाई नियन्त्रणमा राख्न नियमित परीक्षण गर्नुपर्ने बताएका हुन्।
स्वस्थ्य रहन योगसँगै खानपानमा समेत विशेष ध्यान दिनुपर्ने बताएका मेयर कोइरालाले महानगरले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरसमेत राख्दै आएको जानकारी दिए।
नोबेल शिक्षण अस्पतालद्वारा आयोजित वाकाथनका क्रममा अस्पतालका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपालले मानिसको बदलिँदो दैनिकी, खानपान, अनिन्द्रा र तनावयुक्त जीवनले उच्च रक्तचापको जोखिमलाई बढाउने गरेको बताए।
प्रत्येक चारमध्ये एक जनालाई उच्च रक्तचाप हुने गरेको आँकडा दिएका मुटुरोग विशेषज्ञ डा. नेपालले उच्च रक्तचापको कारण हृदयघात, मस्तिष्कघात, शरीरको विभिन्न अंगमा समस्या देखिन, आँखाको दृष्टि कम हुने, मिर्गौलामा समस्या आउनेलगायतका समस्या उत्पन्न हुने गरेको बताए। बिहानीपखको हिँड्डुल स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ थियो।
१७ औँ विश्व रक्तचाप दिवस मनाउने क्रममा नोबेलको टोलीले विराटनगरको महेन्द्रचोकबाट तीनपैनी चौकसम्म वाकाथन गरेको थियो। सो क्रममा टोलीले सर्वसाधारणलाई रक्तचापबारे जानकारीसमेत गराएको थियो। कार्यक्रममा चिकित्सक, रेजिडेण्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थीसँगै सर्वसाधारणको सहभागिता रहेको थियो।