
जीवनका कठिनाइहरू भूगोलसँग जोडिएन भने नेपालको परिचय अधुरो हुन्छ। जीवन कठिन परिस्थिति र प्रतिकूल मौसममा फुल्न सक्ने फुल हो। चट्टान फुटाएर टुसाउने वनस्पति पनि जीवन हो। नेपालको पश्चिमी हिमालमा कठोर र निर्दयी प्रकृतिसँग सङ्घर्ष गरिरहेका ३ महिलाहरूको कथा शान्ता नेपालीले निर्माण गरेको “भोइसेज फ्रम द रुफ अफ द वल्ड; ध्ये ड्रिम्स” नामक वृत्तचित्रमा प्रस्तुत गरिएको छ जुन नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो। गहन र गम्भीर विषयवस्तु तथा जीवनको कठिनाइ पनि यति कलात्मक रूपमा प्रस्तुत हुँदो रहेछ भनेर थाहा पाउन शान्ता नेपालीको सिनेमा हेर्नु पर्छ।
मुख्यतः सिनेमा वातावरणीय सङ्कटले मानव जीवनमा परेको र पर्न सक्ने सम्भावित सङ्कटको बारेमा छ। पृथ्वीको तापक्रम बढ्ने क्रम तीव्र छ र अति वृष्टि र अनावृष्टिका कारण गाँउहरु पुरै डुबेका दृश्य सिनेमामा देखाइएको छ। पानी नपरेर सुख्खा डाँडाहरू अन्न उत्पादनका लागि अयोग्य बन्दै गइरहेका छन्। गाउँमा मानिस सुविधा खोज्दै हिमाली क्षेत्रबाट तल झरिरहेका छन्। स्वास्थ्य र शिक्षाको सहज पहुँच नहुँदा गाउँहरू बस्न सहज छैनन्। यो नै माथिल्लो मुस्ताङको ‘ध्ये यथार्थ’ हो र समग्र हिमालको यथार्थ हो।
सिनेमा हेर्दा लाग्छ- नेपालीले त्यस ठाउँलाई राम्रोसँग चिनेकी छन्। त्यस ठाउँसँगको लगाव र सामीप्य उनले प्रयोग गरेका फ्रेम र सर्टहरूले प्रतिविम्बित गरेका छन्। जब कुनै फिल्म मेकरले आफ्नो लगाव पर्दामा उतार्न सक्छ, ऊ आफ्नो कामप्रति कति इमानदार छ भनेर थाहा हुन्छ। यो इमानदारी र कामप्रतिको समर्पण शान्ता नेपालीले यस सिनेमामा देखाएकी छन्। उनको निर्देशकीय चेत र कथा वाचन शैली पनि उम्दा छ।
सिनेमा र यथार्थबीचमा अन्तरसम्बन्ध हुन्छ। सिनेमाले यथार्थबाट घटना, चरित्र र परिवेश पैँचो लिएको हुन्छ जसलाई कलात्मक सृजनशीलताको माध्यमबाट अद्वितीय काल्पनिक स्पर्श दिन सक्छ। त्यस्ता विषयवस्तु र घटनालाई सिनेमामा थोरै अतिरञ्जना गरेर सम्मोहक कथा वाचन शैलीको निर्माण गर्न सकिन्छ। अर्को प्रकारको सिनेमा यथार्थको धेरै नजिक हुन्छ। नेपालको सन्दर्भमा डकुमेन्ट्री सिनेमा बनाउने र हेर्ने दुवै पक्षको झिनो उपस्थिति रहेको छ। मलाई डकुमेन्ट्री सिनेमा यो अर्थमा मन पर्छ कि डकुमेन्ट्री सिनेमाहरू यथार्थपरक हुन्छन्। वास्तविक समय स्थानमा घटित घटनाहरूको यथार्थपरक चित्रण, सम्बन्धित व्यक्तिहरू सँगको अन्तर्वार्ता र काल्पनिक कुराको अनुपस्थिति हुने भएकाले यो यथार्थको धेरै नजिक हुन्छ। नेपालीको यस सिनेमाले पनि हाम्रो देशको भौगोलिक यथार्थ र जीवनको कठिनाइलाई सुन्दर दृश्यहरूमा उतारेको छ।
शान्ताले निर्माण गरेको सिनेमाले हाल बनिरहेका सिनेमामा गरेको र समय पर्यन्त गर्ने सबै भन्दा महत्त्वपूर्ण योगदान भनेको सशक्त दृश्य भाषाको निर्माण हो। नेपालको भूगोल आफैमा नेपालको पहिचान हो। निर्देशकले सिनेमालाई एक भव्य क्यानभाषमा प्रस्तुत गरेकी छन्। नेपाली सिनेमा हर्ने बित्तिकै थाहा हुने नेपाली पहिचान निर्माण गर्न विदेशी सिने कर्मी नै हुनु पर्छ भन्ने भाष्य पनि भत्काएकी छन् उनले। माथिल्लो मुस्ताङका हिमाली दृश्यहरू वाइड सर्टमा भव्य देखिएका छन्। यस्ता दृश्यहरू नेपालमा निर्माण हुने विरलै सिनेमामा देख्न पाइन्छ। सिनेमामा मलाई जीवनको सङ्कुचन र सर्टहरूको खुलापन थोरै विरोधाभास पूर्ण लाग्यो तर प्रस्तुत गरिएका पात्रहरू उदार नै छन्। उनीहरूको जीवन प्रतिको मोह र स्थानीय लगाव स्पष्ट नै छ।
सिनेमाले बोध गराएको अर्को महत्त्वपूर्ण सन्देश हिमालमा युवाहरूको पलायन हो। अर्को अर्थमा भन्नु पर्दा दुई पुस्ताको द्वन्द्व पनि सिनेमाको भाव हो। युवाहरू सङ्घर्ष पूर्ण जीवन चाहँदैनन् भने वृद्धहरू स्थानीय प्रेम र लगाव मन पराउँछन्। सिनेमाका पात्रहरू पनि आफलाइ चाहिँ ध्ये मन पर्ने तर स्वास्थ्य, शिक्षा र सुविधाका लागि आफ्ना छोरा छोरीलाई सहर तिर पठाउनु परेको बाध्यता सुनाउँछन्।यही अन्तर्द्वन्द्वले सिनेमाको कथालाई आकर्षक बनाएको छ।
शान्ताले निर्माण गरेको सिनेमाले हाल बनिरहेका सिनेमामा गरेको र समय पर्यन्त गर्ने सबै भन्दा महत्त्वपूर्ण योगदान भनेको सशक्त दृश्य भाषाको निर्माण हो। नेपालको भूगोल आफैमा नेपालको पहिचान हो। निर्देशकले सिनेमालाई एक भव्य क्यानभाषमा प्रस्तुत गरेकी छन्। नेपाली सिनेमा हर्ने बित्तिकै थाहा हुने नेपाली पहिचान निर्माण गर्न विदेशी सिने कर्मी नै हुनु पर्छ भन्ने भाष्य पनि भत्काएकी छन् उनले। माथिल्लो मुस्ताङका हिमाली दृश्यहरू वाइड सर्टमा भव्य देखिएका छन्।
‘ध्ये ड्रिम्स’ले जलवायु परिवर्तनले सृजना गरेको पर्यावरणीय सङ्कटलाई कलात्मक तरिकाले प्रस्तुत गरेको छ। रूखा पाखा, पग्लिएको हिमाल, डुबेको बस्तीलाई निर्देशकले कलात्मक विम्बको मार्फत पेस गरेकी छन्। वाइड एङ्गल सर्टहरूले नेपालको भौगोलिक विकटता र सुन्दरता मिश्रित भावमा प्रस्तुत गरेका छन्। एका तिर विदेशी दर्शकका लागि यी विशाल क्याभासमा पोतिएका रोमाञ्चक दृश्य हुन भने स्थानीय जीवन भोगिरहेकाहरूको लागी अत्यास हो। जलवायु परिवर्तनले निम्ताएको ‘नियमित अनिश्चितता’ र जीवनको ‘अपरिहार्य निरन्तरता’ बिचको निरर्थक सङ्घर्ष वृत्तचित्रले गहनताका साथ प्रसूत गरेको छ।
सिनेमाको अर्को सुन्दर पक्ष जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावको महिला दृष्टिकोण हो। पर्यावरणीय सङ्कट सबैलाई समान हुन्छ तर महिलाहरू यस त्रासदीबाट झन् बढी प्रताडित हुन्छन् भन्ने पक्ष सुन्दर लाग्छ। शान्ताले चित्रण गरेको नेपाली समाज पुरुषहरू वैदेशिक रोजगारी र आन्तरिक प्रवासमा आफ्नो ठाउँ छोडेर होडेका र महिलाले घर, परिवार र समाज धानेको भन्दा खासै फरक छैन। अबको नेपाली समाजको चरित्र नै ‘महिलामा निर्भर’ भन्दा अतिरञ्जना नहुने स्वभावको बन्दै छ। यस सन्दर्भमा महिलाको दृष्टिकोण र महिलाकै प्रताडना वृत्तचित्रले प्रसूत गर्नु सान्दर्भिक लाग्छ।
ध्ये ड्रिम्स नेपालको हिमाली जन जीवन कृषि र पशुपालनमा निर्भर भएको यथार्थ चित्रण गर्छ। पहिलाको जस्तो हिउँ पनि पर्न छाडेको छ, पानी जमाएर राखेका तलाउहरू सुकेका छन्, पानी कि कम कि त बढी पर्छ, गाउँमा पहिला जस्तो रमाइको छैन जस्ता संवादले सम्भावित आकस्मिकताको आभास गराउँछ तर गाउँ धानेर बसेका महिलाहरू अबोध छन्। कसैले वातावरणीय विनाश गरेको परिणाम उनीहरूले भोग्नु पर्ने हुन सक्छ भन्ने चेतना उनीहरूमा छैन। यही जीवनमा आउने सङ्कटको अज्ञानताले उनीहरूलाई विजेता बनाएको छ। उनीहरूलाई सङ्घर्ष गर्न मन पर्छ त्यसैले उनीहरू योद्धा हुन र विजेता पनि।
मैले हेरेको शान्ता नेपालीको यो पहिलो वृत्तचित्र हो तर कुनै सिनेमा मेकरको यो पहिलो र नयाँ काम हो भनेर कुनै कोणबाट लाग्दैन। पात्र र बस्तुलाई पर्दामा कुन स्थान दिनु पर्छ भन्ने पूर्ण ज्ञान छ निर्देशकलाई। यस सिनेमाको छायाङ्कन पक्ष एकदमै मजबुत छ। शिशिर बिसाङ्खे र शान्ता नेपालीले दृश्यहरूको खोज र छायाङ्कनमा भव्य मिहिनेत गरेको स्पष्ट देखिन्छ। वाइड हाइ एङ्गल सट, वाइड स्टाटिक सट, क्लोज अप, ड्रोन सट सबै अर्थपूर्ण नै लाग्छन्। छायाङ्कनको कुनै पनि काम अतिरञ्जना लाग्दैन। कागबेनीमा बाढीले गरेको विनाश देखाउन भने मोबाइल भिडियोको प्रयोग गरिएको छ। यो स्वाभाविक पनि हो। कथाको गम्भीरता दर्शकलाई बुझाउन र हुन सक्ने सम्भावित खतराको जानकारी दिन उक्त सिन राखिइएको छ।
पार्श्व ध्वनि र स्थलगत ध्वनिले पनि सिनेमालाई मजबुत बनाउन सहयोग गरेको छ। मन्द गतिमा क्यामेराको गति र पर्दामा दृश्यको चालसँग ध्वनिको समिश्रणले कथाको स्थिरता र ठहरावलाई साथ दिएको छ। ध्वनिमा डिकेस खड्गीले राम्रो प्रभाव दिएका छन्। नेपालीमा संवाद र जानकारी भए पनि बिदेसी दर्शकको लागि अंग्रेजीमा भोइसओभर दिइएको छ। समग्रमा सिनेमा कलात्मक बनेको छ र गहन र गम्भीर विषयवस्तु भएकाले प्रभावशाली पनि छ।