
झापा- झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको छ।
नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बिएण्डसी अस्पतालले सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।
उक्त कार्यक्रमअन्तर्गत नेपाली नागरिकले मात्र सेवा पाउने व्यवस्था छ।
सेवा पाउनका लागि डाक्टरले बिरामीको सूचीकृत गरेर रोगबारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको सिफारिसका आधारमा उक्त सुविधा प्राप्त गर्न सकिनेछ।
क्यान्सरका बिरामीका लागि सरकारले उपलब्ध गराएको सेवा जस्तै यो सेवा रहेको अस्पतालले जनाएको छ।
दुर्घटनाबाट घाइतेहरूका लागि यो सेवा वरदान सावित हुने गिरीले बताए।
कोही पनि विपन्न नागरिक ‘ट्रमा’को उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले सरकारले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको हो। यो सेवामा सरकारले एक लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेको छ।