
फिक्कल (इलाम)- कृषि अर्थतन्त्रलाई नागरिकको उन्नतिको आधार मान्दै आएका स्थानीय तहले कृषकको आवश्यकतामा आधारित कृषि प्रविधि र कृषि सामग्री हस्तान्तरणलाई आफ्नो योजनामा प्रमुखताका साथ राख्न थालेका छन्।
यसै क्रममा इलामको सूर्योदय नगरपालिका वाड न ८ ले मात्रै यस बर्ष कृषकहरुलाई २० लाख बराबरको कृषि सामाग्री हस्तान्तरण गरेको छ । ‘यसले व्यवसायीक कृषिमा लाग्न कृषकहरुलाई प्रोत्साहन मिलेको छ, ’ स्थानीय कृषक प्रकाश घिमिरेले बताए।
बर्षौदेखि कृषिमा पसिना बगाएका कृषकहरुले सरकारबाट सुविधा नपाएको गुनासो गरिरहेको अवस्थामा यस्ता कार्यक्रमले कृषकलाई उत्साह थपेको स्थानीय महिला कृषक जानुका खड्का पौड्याल बताउँछिन्।
पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त वडामा व्यावसायिक कृषकको उल्लेख्य उपस्थिति रहेको छ। चिया खेती, तरकारी खेती र गाई पालन व्यवसायमा उत्साहित कृषकहरुले बार्षिक करोड बढीको कृषि उपज उत्पादन गर्ने गरेका छन्।
कृषिलाई व्यवसायीकरण र कृषकको आयआर्जनमा समेत सहयोग गर्ने उद्धेश्यले १५६ जना कृषकलाई आधुनिक कृषिमा प्रोत्साहन गर्न थोपा सिंचाईसहितको टनेल समेत वितरण गरेको वडाध्यक्ष जंगबहादुर गुरुङले बताए।
उनले भने, ‘यो नगरकै ठूलो योजना हो।’ उनले भौतिक पूर्वाधारसंगै कृषि र पर्यटनलाई प्राथमिकताका साथ वडाले प्रोत्साहन गरेको बताए । उनले च्याउ खेती, फूल खेती, व्यवसायिक कृषकहरुका लागि व्यवसाय प्रवर्द्धनका कार्यक्रमसमेत अघि सारेको बताए।
चियाको राजधानीको रुपमा रहेको सूर्योदय नगरपालिकामा तरकारी खेती र आय आर्जनका अरु क्षेत्रमासमेत लगानी वृद्धि गर्दै लगेको सूर्योदय नगरपालिकाका उपमेयर दुर्गाकुमार बरालले बताए। उनले आगामी बर्ष कृषिमा थप योजना ल्याउने बताए।
इलाममा अदुवा, अलैंची, दुग्ध, अकबरे खोर्सानी, तरकारी खेतीबाट कृषकले मनग्गे आम्दानी लिने गरेका छन्। कृषकको जीवनस्तर उठाउन स्थानीय सरकारले नीति कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने सूर्योदय नगरपालिका वार्ड न ८ का वडा सदस्य कमल गड्तौला बताउँछन्।
वडा सचिव ईश्वर पौड्यालका अनुसार वडाले कृषकको मागमा आधारित कार्यक्रम निर्माण गर्ने, सेवा/टेवाका कार्यक्रम अघि बढाउने र निरन्तर अनुगमन मुल्यांकन गर्ने कार्यक्रमसमेत अघि बढाउँदै आएको छ।
वडाले व्यवसायिक कृषकको पशुधन संरक्षणका लागि घरघरमा पुगेर खोप अभियान समेत संचालन गरेको वडा सदस्य पदम गिरीले बताए। उनले भने, ‘हाम्रो लक्ष नै कृषकको आय वृद्धि गरेर समृद्धि हासिल गर्ने रहेको छ।’