मुगु– जिल्लाका पाटनहरुमा यार्साका लागि पुग्ने संकलक हरुको सुरक्षा गर्न दुर्घटना विमा गरिएको छ।
यार्सागुम्वा पाइने पाटनहरु भएको गाउँपालिका मुगुम कार्मारोङ्ग गाउँपालिकाले यार्सा टिप्न पाटनहरुमा पुग्ने संकलकहरुको दुर्घटना विमा गरेको हो।
पारिवारिक समस्या टार्नका लागी ठूलो सपना बोकेर पाटन पुगेका,जाँदै गरेका र फर्कने क्रममा पालिका सिमाना भित्र कोहि घाइते भएमा उपचारमा सहयोग पुगोस र कसैको मृत्यु भैहाले आश्रीत परिवारलाइ सहयोग पुगोस भनेर मुगुम कार्मारोङ्ग गाउँ पालिकाले आथिक वर्ष २०७६/०७७ बाट दुर्घटना विमा शीर्षकमा बजेट छुटाउदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिएका छन्।
यो विमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेरको हुनुपर्छ। वन प्रवेश शुल्क लिदा गाउँपालिकाले संकलकको व्यक्तिगत सुचना समेत सँङ्गै लिने गर्दै आएको छ।
पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी हरु,स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवा दस्ता पनि यो विमामा समेटिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रावलले जानकारी दिए।

उहाँका अनुसार पालिकाले यो विमाका लागि चालु आवमा ५ लाख रुपयाँ विनियोजन गरेको छ। गत वर्ष यो विमाबाट २ जनाको परिवार लाभान्वित भएको बताईएको छ।
विमा वापत पिडित परिवारले न्यनतम ५० हजार र अधिकतम १ लाख ५० हजार सम्म रकम पाउने छन।
पालिकाको सिमित बजेटले थोरै भए पनि पिडामा पर्ने व्यक्ती र परिवारलाइ राहत पुगोस भनेर यो प्रयास शुरु गरिएको र यो कार्यमा संघिय र प्रदेश सरकारहरुले पनि लगानी गर्नुपर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताएका छन्।
कर्णाली प्रदेश सरकारले कर्णाली बासीको दुर्घटना विमा कार्यक्रम लागू गरेको धेरै भयो तर यो विमा बाट यार्सा संकलकहरु लाभान्वित हुन सकेका छैनन।
विमा प्राप्तीका जटिल प्रकृया हुँदा गरिव,निर्मुखा लाई यो कार्यक्रमले समेटन सकेको छैन। आगामी दिनमा यो विमामा सहजै समेटन सकिने खालका प्रावधान राखेर यार्सा संकलकहरुको विमा गरिनु पर्ने देखिन्छ।
मुगुका २ दर्जनभन्दा बढी पाटनमा पाइने यार्सागुम्वा संकलनका लागि यही जेठ १५ गतेबाट वन प्रवेश खुल्ला गरिँदै छ।

भर्खरै
लोकप्रिय






































































































































































































