
मुगु – सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले देशभरिका सबै जिल्ला र भूभागमा गुणस्तरीय इन्टरनेट सेवा बिस्तार गर्ने सरकारको प्राथमिकता भएकाे बताएकी छन्।
उनले मुगुको सदरमुकाम गमगढीमा बिस्तार हुन लागेको फाइबर ईन्टरनेट सेवाको आईतबार भर्चुअल माध्यमबाट उद्घाटन गर्न आयोजित एक कार्यक्रममा उनले उक्त धारणा व्यक्त गरेकी हुन्।
प्रबिधिको बढ्दो विकाससँगै दूरसञ्चार सेवा मानिसको आधारभूत आवश्यकता हुन थालिसकेको भन्दै मन्त्री शर्माले समय सापेक्ष प्रबिधि पनि फेरिँदै जाने बताइन्।
कर्णाली प्रदेशको दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढी सम्म अप्टिकल फाईबर ट्रान्समिसन लिङ्कको बिस्तार अघि बढेकाले आगामी बर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंङ्कको सेवा समेत बिस्तार हुनेछ।
उद्घाटन कार्यक्रममा संघीय सांसद ऐनबहादुर शाही, जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलगायतले नेपालको दूसञ्चार सेवाले पुर्याएको योगदानको चर्चा गरेका थिए।
नेपाल टेलिकमले पुरानो प्रबिधिको नेटवर्क लाई एफ टी टी एचमा माईग्रेसन गरी हाल उपलब्ध माइक्रो वयभ रेडियो लिंकको क्षमता बढाई एफ टी टी एच प्रबिधिबाट ५ एम बि पि एस क्षमताको टेलिफोन र ईन्टरनेट सेवा बिस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताए।
कर्णाली प्रदेशका सबै जिल्लामा फोर जि सेवा बिस्तार भैसकेको छ भने आजबाट हुम्ला बाहेक मुगु समेत गरी कर्णालीका ९ वटा जिल्लामा एफ, टी टी यच सेवा बिस्तार भएको पनि प्रमुख आचार्यले बताए। बार्षिक ईन्टरनेट प्याकेज मूल्य रू ७,९९९ रहेको बताईएको छ। उच्च गतिको ईन्टरनेट सेवा बिस्तार भएपछि सेवाग्राही खुशी भएका छन्।