
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको दिनको पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
यद्यपि लिगचरणको अन्तिमा खेलमा आइतबारनै शीर्ष स्थानको कोलकाता र दोस्रो स्थानको राजस्थान रोयल्स भिड्दै छन्। दोस्रो खेलमा राजस्थानले जित निकालेमा हैदराबाद तेस्रो स्थानमा धकेलिने छ। तर राजस्थान पराजित भएमा हैदराबाद ‘क्वालिफायर’ का लागि छनोट हुने छ।
हैदराबादमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १४ रनको उच्च स्कोर बनाएको थियो। जवाफमा जारी सिजन विशाल स्कोर बनाउँदै आएको हैदराबादले ५ बल बाँकी हूँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
हैदराबादको जितमा अभिषेक शर्माले ६६ रन बनाउँदा राहुल त्रिपाठीले ३३ रन बनाए। त्यस्तै नितिश कुमार रेडीले ३७ रन बनाउँदा हेनरिच क्लासेनले ४२ रन बनाएका थिए। अब्दुल समाद ११ रनमा नटआउट रहे। पञ्जाबका लागि अर्सदीप सिंह र हर्षल पटेलले समान २-२ विकेट लिएपनि टिमको हार टार्न पर्याप्त रहेन।
त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबका लागि प्रभसिम्रन सिंहले ७१ रनको इनिङ खेल्दा राइली रोसोले ४९ रन बनाए। त्यस्तै अर्थर्व टाइडेले ४६ रन बनाउँदा कप्तान जितेश शर्माले ३२ रनको नटआउट इनिङ खेलेका थिए। हारसँगै पञ्जाब नवौं स्थानमा रहेर जारी सिजनको अन्त गर्न बाध्य भयो।