
झापा – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा अहिलेसम्म प्राप्त उपलब्धिहरू सिध्याउन नेपाली कांग्रेस लागिपरेको बताएका छन्।
झापा बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको आइतबार उद्घाटन गर्दै एमाले महासचिव पोखरेलले संसदको काम कारबाहीमा अवरोध गरेर वर्तमान सत्ता समिकरण भत्काउने र फेरि आफ्नो पक्षमा सत्ता ल्याएर अहिलेसम्म प्राप्त उपलब्धिहरू सिध्याउने खेलमा कांग्रेस लागिपरेको बताए।
संसदलाई बन्धक बनाउने काम नेपालको समृद्धिका लागि बाधक भएको उनको भनाइ थियो। उनले भने, ‘हामीले यो सत्ता समिकरण त्यसै बनाएका होइनौँ। कुनै राम्रो मन्त्रालय नलिइकन कम्तीमा देशमा अलिकति भए पनि राम्रा काम हुन् भनेर वर्तमान सत्ता समिकरण बनाएका हौँ। तर कांग्रेसले अहिलेसम्मकै उपलब्धि भत्काउन लागिपरेको छ, जुन घातक छ।’
नेपाललाई अरु कसैले बनाइदिने नभइ नेपाली स्वयंले बनाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ थियो। उनले मिसन ०८४ का लागि तयारीका साथ रहन पार्टीका कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले कांग्रेसले गरिरहेको संसद अवरोधको काम घातक भएको बताए। संसद अवरोध भइरहे बजेट कसरी ल्याउनुपर्छ भन्ने कुरा एमालेलाई राम्ररी थाहा भएको खरेलले चेतावनी दिए।