
काठमाडौँ – एमालेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी छिन्। बुधबारदेखि सुरु भएको दुई दिन चल्ने भेलाको भण्डारीले उद्घाटन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली अतिथिका रुपमा उपस्थित भए।
राष्ट्रपति हुनुअघिसम्म एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकी भण्डारीले पदमुक्त भएसँगै एमालेका गतिविधिमा सहभागी हुँदै आएकी छिन्। पुनः एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच अध्यक्षको उपस्थितिमै भण्डारीले कार्यक्रमको उद्घाटन गर्नु अर्थपूर्ण छ। यसअघि राष्ट्रिय प्रतिनिधि परिषद भेलाबाट एमालेले भण्डारीलाई विशेष सम्मान दिएको थियो।
महिला भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेतृ, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, सांसद, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधिसहित करिब पाँच हजारको सहभागिता रहेको जनाइएको छ।
०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो।
उक्त प्रस्ताव भण्डारीले नै संसदमा दर्ता गरेकी थिइन्।