
काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। पहिले ब्याटिङ गर्दै नेपालले नेदरल्यान्ड्सलाई १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा उक्त लक्ष्य डच टोलीले ८ बल बाँकी हुँदा ४ विकेट गुमाएर पुरा गर्यो।
नेदरल्यान्ड्सको जितमा म्याक्स ओड्वाडले ५४ रनको अर्धशतकीय इनिङ खेले। उनले १८ औं ओभरमा जिवन दान पाएका थिए। लगतै अर्को ओभरमा उनले चौका र छक्का प्रहार गर्दै टिमलाई ८ बल बाँकी हुँदै जित दिलाए। त्यसअघि उनको रोहित पौडेलले सहज क्याच छुटाए। कसिलो बलिङ गर्दै खेललाई अन्तिम सम्म पुर्याउने प्रयास गरेपनि नेपाली टोलीको फितलो फिल्डीङ अर्को हारको कारण बन्यो।
म्याक्स बाहेक विक्रमजित सिंहले २२ रन बनाउँदा स्याब्रान्ड एग्लब्रेचले १४ रन बनाएका थिए। बास डे लिड ११ रनमा नटआउट रहे। नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनास बोहराले समान १-१ विकेट लिए।
त्यसअघि खचाखच नेपाली दर्शकले भरिएको डालास स्थित ग्रान्ट प्रेरी क्रिकेट मैदानमा टस हाररे पहिले ब्याटिङ गरेको नेपालले ४ बल अगावै अलआउट हुँदै १ सय ६ रनमा समेटिएको थियो।
सुरुवातबाटै खराब ब्याटिङको सिकार भएको नेपालका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक करण केसीले १७ रन र गुल्नसन झाले १४ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन भने विर्सन लायक रह्यो। थप दोहोरो स्कोरका रुपमा अनिल शाह ११ रन बनाए।
नेदरल्यान्ड्सका लागि टिम प्रिङ्गली र लोगन भान बेकले समान ३-३ विकेट लिंदा पउल भान मिकेरेन र बास डि लिडले समान २-२ विकेट लिए।