
काठमाडौं- फिफा विश्वकप छनोट अन्तर्गत युएईसँगको दोस्रो खेलमा नेपाल ४-० ले पराजित भएको छ। यसअघिनै विश्वकप छनोटको दोस्रो चरण र एसियाकप-२०२७ मा स्थान बनाइसकेको युएईले नेपाल विरुद्ध बिहीबार राति अर्को प्रभावसालि जित निकाल्यो। पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो।
नेपालले भने सिमित अवसरमा गोल गर्न चुकेको थियो। लगातार दुई प्रहार पोलमा लाग्दा नेपाल सम्भावित गोलको अवसरबाट बञ्चित भयो। नेपालले अन्तिम खेल बाँकी हुँदा नेपाल अहिले सम्म विपक्षी विरुद्ध गोल गर्न सकेको छैन्। आज युएईले निरन्तर नेपाल विरुद्ध पकड कायम गरेको थियो।
बिहीबार नेपाललाई हराउने क्रममा पहिलो हाफमा हरिब अब्दुल्लाह अलमुसाहारीले २ गोल गर्दा दोस्रो हाफमा अली साले अम्रो र सब्सटिच्युटहजीम अब्बासले समान १-१ गोल गरेका थिए। हरिबले १२ औं मिनेटमा पहिलो गोल गर्दा १४ औं मिनेटमा दोस्रो गोल गरेका थिए। तेस्रो गोल अलीले ५३ औं मिनेटमा गर्दा अर्को गोल भने अब्बासले मध्य भाग भन्दा केही अघिबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। यसअघि पहिलो लेगमा पनि नेपाल ४-० ले पराजित भएको थियो।
यो हारसँगै नेपालले विपक्षी टोलीबाट कुल १८ गोल खाँदा विपक्षी पोस्टमा भने गोल गर्न सकेको छैन्। नेपालले पहिलो चरणमा समग्रमा लाओसलाई २-१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो।