
काठमाडौँ- टी-२० विश्वकपमा बंगलादेशले विजयी सुरुवात गरेको छ। नेपालको समूहमा रहेको बंगलादेश र श्रीलंकाबिच आइतबार बिहान भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो।
श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। यसअघि श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो।
जवाफमा उक्त लक्ष्य बंगलादेशले अन्तिम ओभर बाँकी हुँदा ८ विकेट गुमाएर पुरा गर्यो। बंगलादेशको जितमा टोहिड हृदोयले ४० रन बनाउँदा लिटन दासले ३६ रन बनाए। थप दोहोरो स्कोरका रुपमा महमदुल्लाह १६ रनमा अविजित रहेका थिए।
श्रीलंकाका लागि नुहवान थुसराले ४ विकेट लिंदा वानिन्दु हसरङ्गाले २ र मथिसा पथिराना र धन्नजय डि सिल्भाले समान १-१ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि ओपनर पथुम निसंकाले ४७ रन बनाउँदा धन्नजय डि सिल्भाले २१ रन बनाएका थिए।
त्यस्तै चरिथ असलंकाले १९ रन र एन्जेलो म्याथ्युजले १६ रन बनाए। यो समूहमा नेपाल र श्रीलंका जितविहीन रहेका छन्। साउथ अफ्रिका, नेदरल्यान्ड्स र बंगलादेशको समान १-१ जित रहेको छ।
यही समूहमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिका आज राति प्रतिस्पर्धा गर्दैछन्। नेपालले भने १२ जुनमा श्रीलंकासँग फ्लोरिडामा आफ्नो दोस्रो खेल खेल्नेछ।