
काठमाडौँ – कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताएका छन्। कांग्रेस नेता कोइरालाले अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको जिकिर गरे।
शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएको पनि बताए।
नेता कोइरालाले बिपी र शैलजा आचार्यलाई स्मरण गरेर अघि बढ्न सके मुलुकमा राजनीतिक स्थायित्व, भ्रष्टाचार अन्त्य र सुशासनको पक्षमा कांग्रेसले काम गर्न सक्ने दाबीसमेत गरे।
उनले केन्द्रमा मात्रै ३ पटक सरकार परिवर्तन भएको र अझै कति हुने हो भन्ने कुरा टुंगो नभएकाले यसको स्थायित्वका लागि सबै लोकतन्त्रवादीले सोच्नुपर्ने तर्क गरे।
त्यस अवसरमा नेता कोइरालाले नेपालको राजनीतिक इतिहासमा शैलजा आचार्य एक साहसिक राजनीतिज्ञको रुपमा रहेको पनि स्मरण गराए।