
पोखरा – गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ ।
पोखरा रंगशालामा सोमबार भएको फाइनल खेलमा तनहुँलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसंगै कास्कीले नगद २ लाख रुपैयाँ हात पारेको छ । उपविजेता तनहुँले नगद १ लाख रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।
निर्धारित समयमा दुवै समूहबाट गोल गर्न असफल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीका लागि सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो ।
तनहुँका लागि दिपेश आले, शान्तबहादुर गुरुङ र आशबहादुर गुरुङको प्रहारले गोल पोष्ट जाली चुम्दा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरियो । सजिन थापाको प्रहारलाई कास्कीका गोल रक्षक आकाश रानाभाटले बचाउ गरे ।
यस अघि निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुबै समूह गोल गर्न असफल रहेका थिए ।
प्रतियोगितामा तनहुँका शान्तबहादुर गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे ।
कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा उदयमान खेलाडी, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए ।
उत्कृष्ट घोषित भएका सबैले जनही नगद ५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेका छन् ।